ताजा समाचार:
Search

रुम पहिरो अपडेट ः वेपत्ता तीनजनाको शव भेटीयो, एकै परिवारका पाँचजनाको मृत्यु

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन १७ गते ।

म्याग्दीको मालिका गाउँपालिका २ रुमको तामेङ गाउँमा पहिरोमा परी वेपत्ता भएका तीनजनाको सव भेटिएको छ । मंगलबार विहान ३ बजे घरमाथिको पाखोबाट पहिरो खसेर घर परिँदा वेपत्ता भएका एकै परिवारका तीनजनाको सव भेटिएको हो । स्थानीयले यसअघि दुईजनाको सव भेटाएका थिए ।

पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा उहाँका छोराहरु १३ वर्षीय राजन विक र १५ वर्षीय नविन विकको मंगलबार विहान पुरिएको अवस्थामा स्थानीयहरुले सव निकाले थिए । पहिरो स्थलमा पुगेको प्रहरी,जनप्रतिनिधि र स्थानीयवासीहरुको टोलीले पहिरोमा वेपत्ता भएका घरमुली घामबहादुर,उहाँको श्रीमति राममाया विक र सातवर्षीय छोरी रोजी विकको सव पुरिएको अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।


पहिरो स्थलमा पुगेको प्रहरी,वडाका जनप्रतिनिधि र स्थानीयवासीहरुले वेपत्ता भएकाहरुको खोजी कार्या गरेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । पहिरोले घर पुरिएको खबर पाउनसाथ गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा सहित दरबाङ इलाका प्रहरी कार्यालयबाट खटिएको टोली घटना स्थलमा पुगेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले दुई घर र एकवटा गोठ पूर्ण रुपमा बगाएको छ । पहिरोमा परेर घाइते भएका दुईजनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
पहिरोले स्थानीय गोठे विक र घामबहादुर विकको घर पुरिएको हो । गोठे विक र उहाँकी श्रीमति गोरी विक पहिरोमा परेर घाइते हुनुभएको प्रहरीले जनाएको छ । पहिरो गएको खवर पाउनसाथ स्थानीयवासीहरु गयराती नै उद्धारमा जुटेका थिए । घरदेखि करिब एकसय मिटर माथिबाट पहिरो खसेर दुईघर बगाएको वडाध्यक्ष उदय कुमार बुढाथोकीले बताउनुभयो ।

घटना स्थल पुग्न मालिका गाउँपालिकाको केन्द्र दरबाङ देखि तिनघण्टाको पैदल हिड्नुपर्दछ । वर्षातका कारण ग्रामिण सडक अवरुद्ध हुँदा समयमै प्रहरी टोली पुग्न कठिनाई भएको प्रहरीले जनाएको छ । वर्षा अझै जारी रहेकाले उद्धारमा कठिनाई भएको छ ।