नेविसंघले माग्याे गण्डकीका मुख्यमन्त्रीको राजीनामा

पोखरा। 

नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नै पार्टीका मुख्यमन्त्री कार्यालय अगाडि गण्डकी प्रदेश सरकारको विरोध प्रदर्शन गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै उनीहरुले बुधबार प्रदर्शन गरेका हुन् ।

आर्थिक वर्ष २०७९/८० देखि अत्यधिक बढाइएको सवारी कर र जरिवानाको विरोध गर्दै नेविसंघ विरोधमा उत्रेको हो। साउनदेखि लागू हुने गरि सवारी साधनमा २५ प्रतिशतबाट ह्वात्तै २०० प्रतिशत कर बढाएको प्रदेश सरकारले सूचना प्रकाशित गरेको थियो ।

नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले दुई दिनभित्र सवारी कर र जरिवाना फिर्ता नभए गेटमा नभई कोठासम्म पसेर श्रीलंकामा प्रदर्शनकारीले गरेको आन्दोलनको झल्को दिने चेतावनी दिए । उनले आफूहरूले पार्टी हेरेर नभई जनताको एजेन्डाबारे आवाज उठाएको बताए ।

उनीहरुले करवृद्धि फिर्ता गर, जरिवाना कर फिर्ता, मुख्यमन्त्री राजीनामा दे, भौतिक मन्त्री होसियारजस्ता नारा लगाएका छन् । यता यातायात व्यवस्था कार्यालय कास्कीले भने सूचना प्रकाशित गरेर जरिवाना तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।