ताजा समाचार:
Search

चिटिक्क छ पर्यटकीय स्थल चिनाकोट दरबार पुग्ने पदमार्ग

विकल्प न्यूज/बेनी
साउन ३ गते ।

म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ मा रहेको पर्यटकीय स्थल चिनाकोट दरवार पुग्ने पदमार्ग निर्माण गरिएको छ । चिनाकोटलाई पर्यटकीय स्थलका रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ग्रेटवालको झल्को दिने गरी पदमार्ग निर्माण गरिएको हो ।

स्थानीय पूर्वाधार विकास कार्यक्रमको ९ लाख र स्थानीयवासीको एकलाख १० हजार रुपियाँ बराबरको श्रमदान गरि १० लाख १० हजार रुपियाँमा पदमार्ग निर्माण गरिएको हो । घाम्टाङ देखि चिनाकोट सम्मको करिव ४०० मिटर पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष दर्पण रोकाले जानकारी दिनुभयो ।

घाम्टाङ देखि चिनाकोट सम्मको जम्मा ७०० मिटर बाटोमा करिव ६० प्रतिशतमा पदमार्ग निर्माण भएको अध्यक्ष रोकाले बताउनुभयो । वाँकी स्थानमा पनि पदमार्ग निर्माण गर्नसके चिनाकोट भ्रमणमा आउने पर्यटकलाई सहज हुने उहाँले बताउनुभयो । आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै आएको चिनाकोटमा पुग्नका लागि पदमार्गको आवश्यक छ । हाल ढुङ्गाको सिढि सहितको पदमार्ग निर्माण भएपछि चिनाकोट आवतजावत गर्ने पर्यटकहरुलाई सहज भएको छ ।

चिनाकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि यस अघि गाउँपालिकाले धुरीमा उक्लिनका लागि रेलिङ सहितको पदमार्ग निर्माण गरिसकेको छ भने खानेपानीको व्यवस्थापन, शौचालय लगायतको पूर्वाधार निर्माण गरेको छ । बाईसे चौविसे राज्यको समयमा राजा बसेकोले चिनाकोटको महत्व विशेष रहेको छ ।

चिनाकोटमा अझैपनि दरबारका भग्नावशेष, रानी बसेर कपाल कोर्न ढुङ्गा, पानी खाने कुवा, सिपाहीहरुले सुरक्षाका लागि बनाईएका पर्खाल लगायत रहेकाले ऐतिहाँसिक महत्वको चिनाकोटलाई संरक्षण गरि पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य रहेको वडा अध्यक्ष याम रोकाले बताउनुभयो ।

समुन्द्री सतहदेखि २२ सय मिटरको उचाईमा रहेको चिनाकोट दरवारलाई पालिकाकै मुख्य पर्यटकीय स्थल बनाउने उद्देश्यले गुरु योजना तयार गरि पूर्वाधार निर्माणलाई प्राथमिकताका दिइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

चिनाकोटबाट, मंगला, मालिका र बेनी नगरपालिकाका अधिकांश बस्तीहरु सहित डाँडाकाँडाहरुको दृश्यावलोकन गर्न सकिन्छ । धवलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका दर्जनौ हिमश्रृङ्खलाहरु सन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गर्दछ । चैत वैशाखमा चिनाकोट परिसरको जंगलभरी ढकमक्कै फुल्ने लाली गुराँस त्यहाँको प्रमुख सुन्दरता हो ।