ताजा समाचार:
Search

अवैध क्रसर उद्योगलाई सरोकारवालाको मौन समर्थन !

विकल्प न्यूज/बेनी
असार २९ गते ।


करिब एकवर्ष अगाडि कालीगण्डकी नदी किनारमा दर्ता विनानै सञ्चालन भएको क्रसर उद्योगका वारेमा जिल्लाका सरोकारवाला निकायहरु मौन देखिएका छन् । बेनी–जोमसोम कोरला सडकखण्ड अन्तरगत पर्ने जिल्लाको रघुगंगा गाउँपालिका–२ स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग सञ्चालन गरिएको छ । सदरमुकाम देखि नजिकै रहेको उक्त क्रसर उद्योगका वारेमा जिल्ला स्थित सरकारी निकाय भने बेखबर छन् । वडा कार्यालयले क्रसर उद्योगका वारेमा प्रशासनलाई जानकारी गराउँदा पनि कुनै चासो नदेखाउँदा मिलेमतोको आशंका गरिएको छ ।

क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको रघुंगगा गाउँपालिका २ का वडाध्यक्ष अमृत भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । दर्ता बिनानै क्रसर उद्योग सञ्चालन भएको जानकारी आएपछि आफूले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा पत्राचार गरेको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

आबश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर सञ्चालन गरेको भेटिएको र अनुगमनमा जाँदा त्यहाँ काम गरिरहेका व्यक्तिहरु भागेको उहाँले बताउनुभयो ।

सो क्रसरको विषयमा अनुगमन र छानबिन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्दा पनि क्रसर उद्योगका वारेमा कुनै छानविन नभएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

यो स्थानमा धेरै पहिला देखि क्रसर उद्योग सञ्चालन गरेर नदीजन्य प्रदार्थको अवैध निकासी गरिदै आएको छ उहाँले भन्नुभयो ‘कसले चलाएको हो ? को को यसमा संलग्न छन् त्यो प्रशासनले छानविन गरेर कारवाहीको दायरामा ल्याउनुप¥यो ।’ प्रशासनले सक्दैन भने हामीले क्रसर उद्योग सञ्चालकको नाम सार्वजनिक गरिदिन्छौं उहाँले भन्नुभयो ।

क्रसरका वारेमा एकहप्ता अघि गाउँपालिकालाई जानकारी गराएपनि कुनै चासो नदेखाएको उहाँले बताउनुभयो । क्रसरका वारेमा जिल्ला प्रशासनलाई पनि यसअधि नै जानकारी भएपनि कारवाहीको प्रक्रिया अगाडि नबढाएको उहाँले बताउनुभयो ।

केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालको अनुमति दिएको छैन् । सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खननमा रोक लगाएको छ । विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भए पनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।