तीन दिनसम्म देशैभर मुसलधारे वर्षा

काठमाडौं, असार १४ गते ।

मनसुनी वायुको प्रभावले मङ्गलबारदेखि बिहीबारसम्म देशभर मुसलधारे वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार बिहान जारी गरेको विज्ञप्ति अनुसार सातै प्रदेशमा सामान्यदेखि भारी वर्षा हुने जनाएको छ ।

अविरल वर्षासँगै नदीहरुमा पानीको सतह बढ्ने भएकाले उच्च सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ । साना ठाडो खोलादेखि ठूला नदीहरुमा पानीको सतह बढ्ने जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको प्रदेश नं १,  लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मङ्गलबार (आज) दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूर पश्चिम प्रदेश का एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  छ।

त्यसैगरी आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

बुधबार र बिहीबार दिउँसो र राती पनि देशैभर वर्षा हुने महाशाखाले जनाएको छ । निरन्तरको वर्षाले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षाको  सम्भावना  छ भने सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।

नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन,  यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।