घारखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असार ६ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी मंसिर महिनादेखि व्यापारिक उत्पादन सुुरु गर्ने लक्ष्य सहित आयोजनाले निर्माणलाई तिव्रता दिएको छ । दश महिना अघि ३ हजार ५ मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाले यतिखेर सुरुङ भित्र ढलानको काम गरिरहेको छ ।

पोखरेबगरमा आयोजनाको विद्युत गृह निर्माण धमाधम भइरहेको आयोजनाका इन्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको हाल सम्म समग्र रुपमा ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी असोज महिना देखि परिक्षण उत्पादन गर्ने र मंसिरबाट व्यापारिक उत्पादन थाल्ने आयोजनाको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । ड्याम निर्माण यसअघि नै सम्पन्न गरेको आयोजनाले असार मसान्त पछि हेडवक्र्सका संरचनाहरुमा पानी भरेर परिक्षण थाल्ने आयोजनाका इन्जिनियर बज्रचार्यले जानकारी दिनुभयो ।

सुरुङ मार्गको सम्पूर्ण काम सम्पन्न गरेर भदौं मसान्त पछि सुरुङमा पानी भर्न थाल्छौं आयोजनाका इन्जिनियर बज्रचार्यले भन्नुभयो ‘आयोजनाले कात्तिकबाट परिक्षण उत्पादन थाल्ने हाम्रो योजना छ ।’ आयोजनालाई आवश्यक पर्ने मेशिन तथा उपकरणहरु आउने क्रममा रहेका छन् । भदौं सम्म विद्युत गृह निर्माण सम्पन्न गरी उपकरणहरु जोड्नको सम्पूर्ण काम सकिने उहाँले बताउनुभयो ।

बाँध नजिकै ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) निर्माण गरिएको छ । डसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटरमा एकसय ८५ मिटर पाइप जडान सकिएको छ । डिसेण्डर एप्रोच क्यानल जडान कार्य सम्पन्न भएको छ । पोखरेबगर स्थित गोजेखोल्सीमा पहाड काटेर जग्गा तयार पारेको जग्गामा विद्युत गृह हुनेछ । अमिलाकाफलमा रहेको आउटलेट देखि बिद्युतगृहसम्म १२ सय २० मिटर पेनस्टक पाइप जडान गर्नुपर्नेमा हाल सम्म करिब ६ सय ५० मिटर जडान सकिएको छ । आयोजनाको हेड ४ सय ८० मिटर छ ।

आयोजनाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.लि इन्डिया र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.ले उपकरण तयार पारेको छ । पोखरेबगरदेखि २२० केभिए क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रशारण लाइनको पोल खाड्ने काम सुरु गरिएको र दुईमहिना भित्र प्रशारण लाइन तयार हुने आयोजनाले जनाएको छ ।

आयोजना २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु भएको थियो । दुई अर्ब ४२ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।