रुममा स्वास्थ्य चौकी भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी
असार ३ गते ।


मालिका गाउँपालिकाको २ नम्बर वडा रुममा स्वास्थ्य चौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण थालिएको छ । संघीय सरकारको विशेष अनुदानबाट प्राप्त भएको बजेटले पालिकाले स्वास्थ्य चौकीको दुईतल्ला भवन निर्माण गर्न लागेको हो । पुरानो र जिर्ण भवनका कारण सेवा प्रवाहमा असहजता भएपछि पालिकाले भवन निर्माणका लागि संघीय सरकार सँग माग गरेको थियो ।
चालु आर्थिक वर्षमा ७ कोठे भवन निर्माणका लागि पालिकाले ९२ लाख रुपियाँमा श्रमजिवी निर्माण सेवा बेनीसँग ठेक्का सम्झौता गरेको छ । थप एकतल्ला भवन निर्माणका लागि संघीय सरकारबाट दोस्रो किस्ता एक करोड ७० लाख रुपियाँ बजेट प्राप्त भएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।

अहिले ठेक्का लगाएको काम यही असार मसान्तभित्र सक्नगरी निर्माण व्यवसायीसँग सम्झौता भएको पालिकाले जनाएको छ । निर्माण व्यवसायीले असार भित्रै निर्माण सक्ने लक्ष्यका साथ कार्यस्थलमा दैनिक २२ जना मजदुर परिचालन गरेर धमाधम भवन निर्माणको काम थालेको छ ।

श्रमजिवी निर्माण सेवाले सहायक ठेकेदार स्थानीय युवा चन्द्रकिरण घर्तीलाई भवन बनाउने जिम्मा दिएको छ । असार मसान्त भित्र आफूले पाएको जिम्मेवारी अनुसारको निर्माणको काम जसरी पनि सम्पन्न गर्ने गरी मजदुर परिचालन गरेर भवन निर्माणलाई तिव्रता दिएको घर्तीले बताउनुभयो । अहिले ७ कोठा भएको एकतले भवन बन्ने छ । वाँकी अर्को तलाका लागि फेरी अर्को वर्ष ठेक्का लाग्ने स्वास्थ्य चौकीका प्रमुख विरबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार तल्लो तलामा उपचार कक्ष,स्टोर,बर्थिङ सेन्टर बन्ने छन् भने माथिल्लो तला कर्मचारीका लागि आवासका रुपमा प्रयोग गरिने छ ।
उहाँका अनुसार सो भवन भूकम्प प्रतिरोधात्मक क्षमताको हुनेछ । भवन निर्माणका लागि गाउँलेहरुले जग्गा व्यवस्थापन गरेको स्थानीय युवा तारा रोकाले बताउनुभयो । चन्दा सहयोग जुटाएर जग्गा खरिद गरिएको उहाँले बताउनुभयो । प्रत्येक घरधुरीबाट एकहजारका दरले र वाँकी रकम रुम समाज संघको पहलमा विदेशमा भएका मध्यबाट चन्दा सहयोग गरी १५ लाख रुपैयाँ संकलन गरेर पाँच रोपनी जग्गा खरिद गरिएको स्वास्थ्य चौकीका प्रमुख पुनले बताउनुभयो ।

जिर्ण र साघुरो भवनका कारण सेवा प्रवाहमा समस्या भएको उहाँले बताउनुभयो । नयाँ भवन निर्माण पछि स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।

भवन बनेपछि रुमका करिब ७ सय घरधुरी लाभान्वित हुनेछन् । बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकीमा पुरानो भवन भएकाले स्वास्थ्य सेवा प्रवाहमा कठिनाई भएपछि पालिकाले संघीय सरकार सँग भवन निर्माणका लागि बजेट माग गरेको पालिकाको पूर्व उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो ।