बजेट तथा योजना निर्माणमा जुट्यो बेनी नगर

विकल्प न्यूज/बेनी
असार १ गते ।


बेनी नगरका जनप्रतिनिधिहरु आगमी आर्थिक वर्ष २०७९/८० को बजेट तथा योजना निर्माणमा जुटेका छन् । असार १० गते आयोजना गरिएको नगरसभामा प्रस्तुत हुने नीति कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधिहरुको सक्रियता बढेको छ । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि बेनी नगरपालिका बजेट निर्माणको तयारीमा जुटेको हो । निर्वाचित जनप्रतिनिधिहरुको यो पहिलो बजेट भएकाले नगरवासीहरुले चासोका साथ हेरेका छन् ।

बेनी नगरपालिकाले आगमी आर्थिक वर्षका लागि करिब ७१ करोड १३ लाख रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । नगरपालिकाले आन्तरिक राजश्यबाट ५ करोड ८ लाख, १० हजार,राजश्व बाँडफाँडबाट १३ करोड तिनलाख १० हजार र अन्तर सरकारी वित्तिय हस्तान्तरण संघ र प्रदेश गरी कुल ५३ करोड एकलाख ८० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
नगर स्तरीय योजना छनौंट गर्न नगरपालिकामा गठन भएका विभिन्न विषयगत समिति र वडा तहका योजना तथा कार्यक्रम छनौट गर्न जनप्रतिनिधि र कर्मचारीहरु जुटेका छन् ।

नगर स्तरीय योजना तथा कार्यक्रम छनौंटका लागि विभिन्न ५ वटा विषयगत समितिलाई १० करोड ५० लाख रुपैयाँको बजेट सिमा निर्धारण गरिएको छ । जसअनुसार आर्थिक विकास समितिलाई दुई करोड,सामाजिक विकास समितिलाई २ करोड ८० लाख,पूर्वाधार विकास समितिलाई ४ करोड २० लाख,शुसासन तथा संस्थागत विकास समितिलाई ६५ लाख र वन,वातावरण तथा विपद् व्यवस्थापन समितिलाई ८५ लाख रुपैयाँको बजेट सिमा निर्धारण गरिएको छ ।

नगरका १० वटै वडालाई भूगोल र जनसंख्याका आधारमा बजेटको सिमा निर्धारण गरी सिलिङ दिइएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । ७ र ८ लाई ५० लाख,१,४,६ र १० नम्बर वडालाई ५५ लाख,२,३,५ र ९ नम्बर वडालाई ६० लाख भित्र रहेर आगमी आर्थिक वर्षका लागि वडा तहले योजना तथा कार्यक्रम छनौट गर्न बजेटको सिलिङ दिइएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

अहिले वडा तहका जनप्रतिनिधि र कर्मचारीहरु बजेट निर्माणमा जुटेको उहाँले बताउनुभयो । वडा तहले ४ गते र विषयगत समितिले ६ गते भित्र योजना तथा कार्यक्रम बनाएर नगरपालिकामा पेश गर्नुपर्ने छ । उक्त योजना र बजेट ८ गते वस्ने नगर कार्यपालिकामा पेश हुने र कार्यपालिकाले पास गरेपछि १० गतेको नगरसभा मार्फत सार्वजनिक गरिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

आगमी आर्थिक वर्षमा नगरपालिकाले ठ्रूला भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम बनाउन लागिएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो । उहाँका अनुसार साना र टुक्रे योजनालाई निरुत्साहित गरिने छ । वडातहले ३ लाख र नगर स्तरीय ५ लाख रुपैयाँ भन्दा कमका योजना तथा कार्यक्रम नबनाउन सुझाएको उहाँले बताउनुभयो । बेनीको खुल्ला मञ्च र नगरपालिका कार्यालय देखि वडा कार्यालय जोड्ने सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।

बेनी – पात्लेखेत – पाखापानी सडक,बेनी पुलाचौर,बेनी भकिम्ली सडक र बेनी लभ्लीहिल भकुण्डे सडकलाई स्तरोन्नती गर्न नगरले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने नगरप्रमुख केसीले बताउनुभयो । साथै बेनी महारानीथान हुँदै छापा डाँडाखेत ठूलो खोला सडकलाई पनि प्राथमिकतामा राखिएको उहाँको भनाई छ । नगरका ५६ वटा सामुदायिक विद्यालयहरुमा बालशिक्षा संचालन गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गरिने उहाँले बताउनुभयो ।

वडाका जनप्रतिनिधिले आगामी वर्षका समुदायस्तरबाट योजना छनोटको प्रारम्भिक काम शुरु गरेका हुन् । वडाका जनप्रतिनिधिहरु अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी सुझाव संकलन गर्न थालेका छन् ।

वास्तविक योजनालाई बजेटिङका लागि वडाध्यक्ष र सदस्यहरुको सहभागितामा वडाको टोलस्तरमा पुगेर स्थानीय टोल विकास समिति, युवा क्लब, आमा समूह, सरोकारवालालगायतसँग छलफल गरी योजना तर्जुमा गर्न लागिएको वडाध्यक्षहरुले बताएका छन् । यो समाचार आजको म्याग्दी प्रेस दैनिकमा प्रकाशित छ ।