पृथ्वीराजमार्गको अवरोध हट्यो, दुईतर्फी सवारी सञ्चालन

तनहुँ, जेठ ३० गते । 

पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी–मुग्लिन खण्डमा सडक भासिएर भएको सवारी अवरोध हटेको छ । अबरोध भएको ठाउँमा सोमबारबाट दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भासिएको ठाउँमा सडक डिभिजन कार्यालय दमौलीले पहरो काटेर सडक फराकिलो बनाएपछि आज दिउँसो ४ः४५ बजेबाट दुवै तर्फ सवारी सञ्चालनमा आएको छ । सवारी साधन दुईतर्फी सञ्चालनमा आएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ ।

साढे दुई मिटर पहरो काट्ने काम पूरा भएकाले दुईतर्फ सवारी सूचारु गरिएको सडक डिभिजन कार्यालय दमौलीका सिनियर डिभिजन ईन्जिनियर लक्ष्मी केसीले जानकारी दिनुभयो । पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटरको बाटो बनेपछि सडक दुई तर्फी नै सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । यातायात सूचारु गरिए पनि सो क्षेत्रमा जोखिम भने कामय रहेको सिनियर इन्जिनियर केसीले बताउनुभयो ।

वर्षायाम भएकाले भासिएकोलाई टेवा दिने कार्य गर्न समस्या परेको र पहरो काटेको ठाउँमा पनि पहिरो खस्ने डर कायमै रहेकाले जोखिम नटरेको उहाँले बताउनुभयो । यात्रुबाहक सवारीलाई दुईतर्फ नै सञ्चालन गर्न दिइएको भएपनि हेभीखालको मालबाहक सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको केसीले जानकारी दिनुभयो ।

अबिरल रुपमा परेको वर्षा र मस्र्याङदी नदीमा आएको बाढीले गर्दा पृथ्वीराजमार्ग अन्तर्गत रहेको आँबुखैरेनी–मुग्लिन सडकखण्डको साँखरमा सडक गत शुक्रबार विहान भासिएपछि सवारी आवागमनमा समस्या आएको थियो ।