केरा खेतीले खबराको गाउँनै ढाक्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
जेठ २९ गते ।

बेनी नगरपालिका २ खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एककरोड रुपियाँ गाउँमा भित्राउने गरेका छन् । यहाँका अधिकांश किसानहरुले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन । खबराको केरा भनेपछि बेनी बजारमा खोसाखोस हुन्छ ।

केरा खेतीबाट राम्रो आम्दानी हुनथालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी,पाखा,कान्ला र खोल्साहरु सवैतिर केरा खेतीले छपक्कै ढाकेको छ । गाउँभरी नै केरा नै केरा देख्न सकिन्छ । २० वर्ष अघि खबरका मानबहादुर थापाले मात्र केरा खेती गर्नुहुन्थ्यो । थापाले नै गाउँमा केरा खेतीको सुरुवात गर्नुभएको हो । थापाले सुरु गरेको केरा खेतीले अहिले गाउँनै ढाकेको किसान सुवास कुँबरले बताउनुभयो ।

खबराका प्रयाजसोले थापाको सिको गरेर व्यवसायिक रुपमा केरा खेती थालेका छन् । अन्य खेती भन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबराका किसानहरु केरा खेती तर्फ आकर्षित भएका हुन । खबराका करिब चारसय घरधुरीले व्यवासायिक रुपमा हजारी जातको केराको खेती गरेको र वार्षिक रुपमा एककरोड रुपियाँ भन्दा बढी गाउँमा भित्रिने गरेको कृषक सुवास कुँबरले बताउनुभयो ।

सुवासले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गरेर राम्रो आम्दानी लिनुभएको छ । ८ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा ५ लाख रुपियाँ भन्दा बढी आम्दानी हुनेगरेको उहाँ बताउनुहुन्छ । परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यवसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको कृषक कुँवरले बताउनुभयो ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरो खेती तर्फ खबराका किसानहरु आकर्षित भएका हुन । विरुवा रोपेको दुईवर्षमा पसाउन थाल्ने र पसाएको पाँचमहिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बविता सापकोटाले भन्नुभयो ‘५ रोपनी जमिनमा केराखेती गरेका छौं वार्षिक रुपमा ४ देखि ५ लाख रुपियाँ सम्म आम्दानी हुन्छ ।’

सापकोटाले विगत १० वर्ष देखि केरा खेती गर्दै आउनुभएको छ । छोराछोरी पढाउन र घरखर्ची चलाउन कुनै समस्या छैन उहाँले भन्नुभयो ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाण्डौं राखेर पढाउन पुगेको छ ।’ उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ सापकोटाले भन्नुभयो ‘केरा लिन बेनी देखि व्यवसायीहरु घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन एकसय २० रुपियाँमा बिक्री हुन्छ ।’

त्यस्तै खबराकै हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रुपमा ६ लाख रुपियाँ जति आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । राम्रो भयो भने केराको एक घारीमा ७ सय देखि ८ सय सम्म कोसा हुन्छन् उहाँले भन्नुभयो ‘एक घारीको चार हजार दुईसय रुपियाँ सम्म बिक्री गरेको छु ।’

पछिल्ला केही वर्ष भने केरामा रोग देखा पर्न थालेपछि किसानहरु चिन्तीत हुनथालेको कुँबरले बताउनुभयो । पसाउने बेलामा केराको पात पहेलो हुने र गुभोमा किरा लागेर बोट नै सुक्ने रोग देखा परेको उहाँले बताउनुभयो । केराको रोगका वारेमा कृषि ज्ञानकेन्द्रमा जानकारी गराएपनि कुनै सुनुवाई नभएको उहाँले गुनासो पोख्नुभयो ।