गोलाप्रथाबाट पर्वतमा जिसस प्रमुख एमालेले पायो

विकल्प न्यूज\पर्वत
जेठ २७ गते ।

जिल्ला समन्वय समिति पर्वतको प्रमुख नेकपा एमालेले पाएको छ । एमाले र गठबन्धनको मत बराबरी भएपछि सहमति अनुसार शुक्रबार गोलाप्रथाबाट प्रमुख टुंगो लगाइएको हो ।

प्रमुख नेकपा एमालेको भागमा परेको छ भने उपप्रमुख सहित बहुमत सदस्य गठबन्धनको भागमा परेको छ ।

जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनका बिचमा समान ७ मत रहेका कारण सर्वसम्मत उमेदवारी दिने सहमति भएको हो ।

प्रमुख र उपप्रमुखको टुंगो लगाउने क्रममा गोलाप्रथाबाट एमालेको भागमा प्रमुख र गठबन्धनलाई उपप्रमुख परेको छ । एमालेबाट प्रमुखमा बिष्णुराम बिक र गठबन्धनबाट उपप्रमुखमा सोम जिसीले उमेदवारी दिने तयारी छ । एमालेले ३ सदस्य र गठबन्धनले ४ सदस्यलाई उमेदवार बनाउने सहमति पनि भएको छ ।