मालिकामा विषयगत समिति गठनमा काँग्रेस र माओवादीबीच विवाद

विकल्प न्यूज/बेनी
जेठ १९ गते ।


मालिका गाउँपालिकाको पहिलो गाउँसभामा विवाद उत्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र दरबाङमा बसेको गाउँसभामा जनप्रतिनिधिकाहरुकाबीच विवाद उत्पन्न भएपछि गाउँसभा स्थगित हुनपुगेको छ ।

पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विभिन्न विषयगत समितिहरुको गठनको प्रस्ताव पेश गरेपछि काँग्रेस,माओवादी र नेकपा एकिकृत समाजवादीका जनप्रतिनिधिहरुकाबीच आपसी विवाद हुँदा गाउँसभा स्थगित हुन पुगेको हो ।
गाउँसभामा उनीहरु नै एकआपसमा विवाद गरे नेकपा एमालेबाट निर्वाचित एकजना वडाध्यक्षले भन्नुभयो ‘विषयगत समितिमा उनीहरुकाबीच नै भागबण्डा नमिलेको जस्तो देखियो ।’

पालिका अध्यक्ष गर्बुजाले विषयगत समिति गठनको प्रस्ताव पेश गर्नुभएको थियो वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुनले भन्नुभयो ‘वडा नम्बर ३ का अध्यक्ष मोतीप्रसाद बुढाले भौतिक पूर्वाधार समितिको संयोजक बन्ने इच्छा देखाउनुभयो तर हलमा रहेका काँग्रेसबाट विजयी हुनुभएका एकजना गाउँसभा सदस्य मञ्चमा आएर उहाँलाई तानेर लैजानुभयो । अध्यक्ष जस्तो व्यक्तिलाई लछारपछार गर्दै तानेर लैजानु भयो । हजुर संयोजक हुने पार्टीको निर्णय छ ? हजुर मात्र बसेर हुन्छ ? भन्ने जस्ता प्रश्न गर्नुभयो । अध्यक्षलाई कठालोमा समातेर वाहिर लाग्नुभयो ।’

गाउँसभाका सदस्यहरुकाबीच कुन समितिमा कसले नेतृत्व गर्ने भन्ने विषयमा विवाद भएका कारण गाउँसभा स्थगित हुनपुगेको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो । अध्यक्ष ज्युले विषयगत समितिहरुको प्रस्ताव पेश गर्नुभएको थियो उहाँले भन्नुभयो ‘कसले कुन समितिको नेतृत्व गर्ने भन्ने वारेमा गाउँसभाका सदस्यहरुकाबीच आपसी समझदारी नहुँदा विवाद भएको हो ।’

वाहिर आएजस्तै बुधबारको गाउँसभामा बजेट रकमान्तर गर्ने प्रस्ताव पेश नभएको उहाँले बताउनुभयो । कार्यपालिकामा पेश भएपनि गाउँसभामा पेश नभएको उहाँले बताउनुभयो । गाउँसभाका सदस्यहरुकाबीच समझदारी कायम भएपछि एक दुईदिनमा अध्यक्षले गाउँसभाको वैठक बोलाउने उहाँले जानकारी दिनुभयो ।

गाउँसभामा कांग्रेसबाट निर्वाचित वडा नम्बर १ का अध्यक्ष टंकप्रसाद पुनले गाउँपालिका अध्यक्ष एकलौटी तवरले अगाडि बढ्न खोजेको बताउनुभयो । विषयगत समितिहरुमा सवैलाई सम्मान हुने गरी प्रतिनिधित्व हुनुपर्ने उहाँले बताउनुभयो । कार्यपालिका वैठकमा बहुमतले मात्र निर्णय गर्नु राम्रो नहुने उहाँले बताउनुभयो ।

१४ सदस्यीय मालिकाको कार्यपालिकामा एमालेका ८ जना छन् । ३९ सदस्यीय गाउँसभामा भने एमालेका अध्यक्ष र उपाध्यक्ष सहित १७ जना सदस्य छन् । कार्यपालिका अन्तरगत राजस्व परामर्श तथा बजेट सिमा निर्धारण, आर्थिक, भौतिक पूर्वाधार, सामाजिक विकास, विपद् व्यवस्थापन र सभा अन्तरगत लेखा लगायत विषयगत समिति हुने गर्छ ।