बेनी नगर प्रमुखको पदभार ग्रहणः स्वास्थ्य सम्बन्धि तीन निर्णय

विकल्प न्यूज/बेनी
जेठ ६ गते ।

 म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले पदभार ग्रहण गर्नुभएको छ ।

शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुखको पदभार ग्रहण गर्दै केसीले प्रभावकारी सेवा, सुशासन, पारदर्शिता, भ्रष्टाचार न्युनिकरण लगायतमा कर्मचारी र जनप्रतिनिधि एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

बेरुजुको समस्या स्थानीय तहको प्रमुख समस्या रहेकाले बेनी नगरपालकालाई बेरुजु सुन्य पालिका बनाउने तर्फ विशेष ध्यान दिन कर्मचारीलाई अनुरोध गर्नुभएको छ ।

कर्मचारीहरु संगको परिचयात्मक कार्यक्रममा नगर प्रमुख केसीले नगर विकासका लागि कर्मचारी र जनप्रतिनिधि विचको सम्वन्ध सुमधुर हुन आवश्य रहने बताउनुभयो । उहाँले कर्मचारीलाई सम्मानका साथ काम गर्ने वातावरण तयार गर्न आफु सधै तत्पर रहने बताउनुभयो ।

उहाँले जागिरे मानसिकता भन्दा पनि सेवाको मानसिकता बनाई नागरिकलाई सहज ढंगले सेवा प्रदान गर्न अनुरोध गर्नुभयो । केसीले एउटा पार्टीबाट विजयी भएपनि ३३ हजार नगरबासीको साझा व्यक्ति भएकाले सवैलाई समान व्यवहार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

पाँच बर्षको समय नगरबासीको जीवनस्तर उकास्न सवै  एकजुट  भएर लाग्नुपर्ने उहाँको भनाई थियो । त्यस्तै उपप्रमुख लामिछानेले योजनाको अनुगमन र न्यायिक समितिलाई प्रभावकारी बनाउने, विकासका गतिविधिलाई दिगो हुने गरि संचालन गर्ने बताउनुभयो । महिला सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकता आधारमा संचालन गर्ने, नगरपालिकाको सेवालाई अपांगमत्री र बालमैत्री बनाउने उपमेयर लामिछानेको भनाई थियो ।

नगर प्रमुख केसीले बुधबार नै तीन वटा निर्णय गरेको बताउनुभएको छ । वेनी नगरपालिका भित्र गरिविको रेखामुनी रहेकालाई निशुल्क स्वास्थ्य विमा सेवा उपलब्ध गराउने, ७० बर्ष माथिका ज्येष्ठ नागरिकलाई घरदैलोमा नै पुगेर नियमित स्वास्थ्य परिक्षण गर्ने, र प्रत्येक महिना ४५ बर्ष माथिका नागरिकलाई नसर्ने रोगको स्वास्थ्य शिविर संचालन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

नगर प्रमुख केसीले प्रत्यक हप्ताको एकदिन बेनी बजार सहित आसपासका सडकलाई दमकलमार्फत सरसफाई गर्ने, छाडा पशुचौपायाको व्यवस्थापन लगायतका बिषयमा पनि तत्काल आवश्यक तयारी गर्ने बताउनुभएको छ । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बेनी नगरको बर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । पदभार ग्रहण गर्नुपूर्व मेयर केसी र उपमेयर लामिछानेलाई बेनी नगरपालिकाका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।