विकृत राजनीति ः टिकट हात पार्न पार्टी प्रवेश (सम्पादकीय)

विकल्प न्यूज/बेनी
बैशाख १४ गते ।


नेकपा एमालेका धबलागिरि गाउँपालिका कमिटी अध्यक्षले निर्वाचनमा टिकट नपाएपछि मनोनयन गर्ने दिन राप्रपामा प्रवेश गरी पालिका अध्यक्षको उम्मेदवार बन्नुभयो । यस्तै केही दिन अघि अन्नपूर्णमा माओवादीका पालिका कमिटीका अध्यक्ष र माओवादीबाट वडाअध्यक्ष जितेका एमाले प्रवेश गरेर उम्मेदवार बने । यस्तै पार्टी फेरबदल देशव्यापी रुपमामा भएका छन् । एउटा पार्टीबाट टिकट नपाएपछि अर्का पार्टीमा प्रवेश गर्ने र उम्मेदवार हुने प्रवृत्ति यतिखेर देशभर छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको दिन थियो । उक्त दिन पार्टी छाड्ने र अर्को पार्टीमा प्रवेश गर्ने लहर नै चल्यो । बर्षौ देखि एउटा पार्टीमा जिवन विताएकाहरुले क्षणभरको आक्रोसले राजनीतिक जिवनलाई समाप्त पारे । विचार सिद्धान्त र पार्टीको कार्यक्रम चित्त नबुझेर अर्को पार्टीमा प्रवेश गर्नुलाई त स्वाभाविक मान्न सकिन्छ । पार्टीले गलत लाइन लिँदा पनि उही पार्टीमा रहनुपर्दछ भन्ने छैन । तर निर्वाचनका समय टिकट नपाएपछि वा अन्य प्रलोभनमा परेर पार्टी छाड्नुले स्वाभाविक मानिदैन ।

भन्ने गरिन्छ राजनीतिमा न इमान हुन्छ न जमान नै । स्थानीय तहको चुनावका मुखमा दल–बदलका भीड हेर्दा यही निष्कर्षमा पु¥याउँछ । स्थानीय तहका आकांक्षीहरूले पार्टीको आधिकारिक उम्मेदवारको सम्भावना नदेखेपछि दल–बदलका नाटक बाक्लैसँगै मञ्चन भए । को कति खेर कुन पार्टीमा पुग्छ भनी ठम्याउनै नसकिने स्थिति पैदा भएको छ । नेकपा एमाले धबलागिरि गाउँपालिका कमिटीका अध्यक्ष होमबहादुर थापा मनोनयनको अघिल्लो दिनसम्म पार्टीमै हुनुहुन्थ्यो । मनोनयनको दोस्रो दिन १० बजे जव टिकट पार्टीले अर्को व्यक्तिलाई दियो उहाँ फुत्त राप्रपा प्रवेश गरी अध्यक्षको टिकट हात पार्नुभयो । राजनीतिक जीवनको लामो समय नेकपा एमालेमा विताउनुभएका थापाको एकछिनको आवेग र आक्रोसले उहाँलाई अर्का पार्टीमा पु¥याइदियो । थापा मात्र होइन देशभर यो दुईदिनमा अनेक रोमाञ्चक घटनाहरु घटे । यो राजनीति भित्रको फोहोरी खेल हो ।

हिजोसम्म नेपाली कांग्रेसबाट स्थानीय तहमा रजगज गरेका पात्रहरू रातारात एमाले–माओवादी–मधेसवादी दलका उम्मेदवार बने । अनि एमाले–माओवादीहरू पनि कांग्रेसको रुखमुनि ओत लागे । यो स्थानीय चुनावको उम्मेदवारीमा देखिएको एउटा अनौठो र रमाइलो दृश्य भनेको ‘दल–बदल’ पनि एक हो । एउटा दल छाडेर अर्को दलमा प्रवेश गर्दा वित्तिकै टिकट दिन दल पनि उस्तै हो । यसले अन्तः लोकतन्त्रलाई कमजोर बनाउछ । अनि स्वयम दललाई पनि कमजोर बनाउँछ । लामो समय राजनीतिक गरेकाले टिकट नपाएर अर्को दलबाट आउँदा वित्तिकै हातमा टिकट दिने प्रवृत्ति खराब छ । पार्टीका निम्ति त्याग गरेका, बलिदानीको भावनाले संघर्षमा मैदानमा होमिएकाहरूलाई पन्छाउँदै नवप्रवेशीहरूलाई फूलमाला लगाउँदै टिकट दिनुले पार्टीलाई बलियो होइन कमजोर बनाउँछ । नैतिकहीन, आदर्शहीन, सिद्धान्तहीन, भ्रष्ट र खराब–बेइमान पात्रहरू कहिल्यै ‘असल’ हुँदैनन्, अपवादबाहेक । स्थानीय तहका मतदाताहरू, जसले त्यस्ता पात्रहरू नजिकैबाट नियालेकै हुन्छन् । यदि स्थानीय तहमा स्वच्छ र स्वस्थ सरकारको चाहना राख्ने हो भने खराब पात्रहरूलाई मतबाटै किनारा लगाउनुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै खराब पात्रहरू मतकै माध्यमद्वारा किनारा लगाउनु हो । म्याग्दी प्रेस दैनिकको सम्पादकीय