मिलनचोकको स्वास्थ्य शिविरबाट दुईसयले सेवा लिए

विकल्प न्यूज/बेनी
फागुन १४ गते ।

   पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट करिब दुईसय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखा सँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन,दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी र जनरल चिकित्सक हेमन्त बास्तोलाले सर्वसाधरणहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

शिविरमा एकसय ७५ जना महिला,र ४० पुरुषले सेवा लिएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता कार्की कुँबरले जानकारी दिनुभयो । शिविरमा निशुल्क स्वास्थ्य परिक्षण,परामर्श सेवा र औषधि वितरण गरिएको अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल संयोजक मुना भुषालले बताउनुभयो । शिविरमा मल्लाझ,बासखर्क,लेखफाँट,सालिजा, धाइरिङ,बनौ र नागलिङका सर्बसाधरणहरुले सेवा लिएका थिए ।

शिविरको उदघाटन गर्नुहुँदै जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले पालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा धन्यबाद दिनुभएको थियो ।

प्रवासमा रहेर पनि जन्मभूमिको विपद् व्यवस्थापन,शिक्षा र स्वास्थ्यका क्षेत्रमा पर्वत समाजको ठूलो योगदान रहेको उहाँले बताउनुभयो । पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरिले विचार व्यक्त गर्नुभएको थियो । शिविरको उदघाटन सत्रको संचालन नविन जिसीले गर्नुभएको थियो ।