ताजा समाचार:
Search

कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति’ सार्वजनिक

विकल्प न्यूज\बेनी
माघ १५ गते ।


आर्थिक इतिहासका अध्येता म्याग्दीवासी कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति ः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ ।
यस पुस्तकमा ढुङ्गेयुगदेखि विद्युतीय चमत्कारसम्मका मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले सामना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरूसमेत छन् ।

पुस्तकबारे लेखक पौडेल भन्छन्, ‘यस पुस्तकमा मूलतः सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचना प्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमाञ्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु, साथै युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक–सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू पनि यस पुस्तकमा छन् ।’
म्याग्दीमा जन्मिएर डेनमार्कमा बस्दै आएका कृष्ण पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविद्यालय स्वीडेनबाट इकोनोमिक हिस्ट्रीमा स्नातकोत्तर गरेका छन् ।

ट्रेड पेपर–ब्याक संस्करणमा प्रकाशन भएको यो पुस्तक बजारमा सीमित कपीहरूमात्रै वितरण हुनेछ । पाठकको रुचिअनुसार मास मार्केट पेपरब्याकु कोरोनाको प्रभावपछि सार्वजनिक गरिनेछ । सात खण्डमा विभाजित २९६ पृष्ठको किताबको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।