ताजा समाचार:
Search

उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रवासी म्याग्देलीलाई अनुरोध

विकल्प न्यूज/बेनी
कार्तिक २ गते ।

 म्याग्दीको विकास र समृद्धिका लागि उत्पादनमुलक क्षेत्रमा लगानी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । म्याग्दीको सामाजिक क्षेत्रमा सघाउँदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको बेनीमा सुरु भएको चौथो महाधिवेशनमा बोल्ने वक्ताहरुले जिल्लाको विकासका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले विदेशमा आर्जन गरेको सीप र पुँजीलाई जिल्लामा रोजागारी सिर्जना गर्ने उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

जिसस सभाहलमा सुरु भएको महाधिवेशनमा सांसद थापाले विदेशमा कमाएको पुँजी र सीपलाई अनुत्पादन क्षेत्रमा लगानी नगर्न आग्रह गर्दै रोजगारी सिर्जना गर्ने उत्पादनमुलक कृषि, पशु, हाइड्रो, होटल, पर्यटन लगायतको क्षेत्रमा मोनाले लगानी गरेर जिल्लाको समृद्धिमा योगदान गनुपर्ने बताउनुभयो । उहाँले जिल्लाको गरिवी निराकरण गर्न उत्पादन क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो ।

रोजगार ब्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले जिल्लाको सामाजिक क्षेत्रमा ठुलो योगदान रहेको बताउदै निरन्तरता दिन आग्रह गर्नुभयो ।

उहाँले विभिन्न देशमा रहेका म्याग्देलीहरुले बाढीपहिरो पीडितको घरनिर्माण, विभिन्न रोगबाट ग्रसित विरामीको उपचार, कोभिडको समयमा स्वास्थ्य सामाग्री, विपन्न परिवारलाई आर्थिक सहयोग र विकासका पुर्वाधार निर्माण लगायतको क्षेत्रमा प्रवासीको योगदान रहेको चर्चा गर्नुभयो ।

मोनामा विश्वमा छरिएर रहेका म्याग्देलीलाई एकतावद्ध गराउदै संस्थाको गरिमा बढाउन उहाँको अनुरोध थियो ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन, नेकपा माओवादी केन्द्रका संयोजक रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, मोनाका निर्वतमान अध्यक्ष चक्रबहादुर थापा, संस्थापक संरक्षक प्रकाश पुन, पुर्व अध्यक्ष योगेन्द्र क्षेत्री, एनआरएनकी उपाध्यक्ष रविना थापा, मोनाका संरक्षक सुवाष श्रेष्ठ, विद्यान संयोजक तिलक मल्ल, मोना युएइका अध्यक्ष सुवास राम्जाली, मोना कतारका अध्यक्ष नरेन्द्र फगामी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मोना आइसीसीका अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष मिम पुर्जाको स्वागत मन्तव्य र महासचिव विक्रम कार्कीको संचालनमा रहेको कार्यक्रममा सास्कृतिक कार्यक्रममा सहभागि कलाकार, सहयोगी संस्था, मोनाका पुर्व अध्यक्ष एवम् पदाधिकारीलाई सम्मान गरिएको थियो

भौतिक र भर्चुअलबाट २० देशका २६१ जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाएका छन् । यस महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व नयन गरिने मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।

आगमी नेतृत्वको दावी गर्दै मोना समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्की सहित तीन जनाले अध्यक्ष पदको उम्मेदवारी दर्ता गरेका छन् ।

मोना आईसीसीको जिल्लाको आर्थिक, सामाजिक र मानविय सेवामा योगदान रहदै आएको छ। अधिवेशन सुरु भन्दा पहिला बेनीमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी र बाजागाजा सहित ¥याली निकालिएको थियो ।