को आउँला काँग्रेस म्याग्दीको नेतृत्वमा ?

शिव आचार्य / विकल्प न्यूज
भदौं २४ गते ।


यतिखेर नेपाली काँग्रेसको १४ औं महाधिबेशनले राजनीतिलाई तताएको छ । वडा देखि केन्द्र सम्म काँग्रेसमा पार्टीको नयाँ नेतृत्व चयन हुँदैछन् । म्याग्दीमा भदौं १८ वडा अधिबेशन सम्पन्न भएको छ । वडा अधिबेशनबाट वडा सभापति सहित १६ जना जिल्ला प्रतिनिधि चयन भएका छन् ।

प्रत्येक वडाबाट निर्वाचित भएर आएका प्रतिनिधिहरुले गाउँपालिका तथा नगरपालिका,प्रदेश समिति र जिल्ला समिति चयन गर्नेछन् । असोज ५ गते जिल्ला अधिबेशन गर्ने काँग्रेसको तालिका छ । जिल्ला अधिबेशनको मिति नजिकिँदै गर्दा नेताहरुको दौडधुप बढेको छ ।
१८ सम्पन्न वडा अधिबेशनबाट चयन भएका प्रतिनिधिहरुलाई आफ्नो पक्षमा पार्न लागि लविङ सुरु भएको छ । प्रजातान्त्रीक पार्टी भएकाले काँग्रेसमा नेतृत्व चयनमा मतदान नै हुने देखिन्छ ।

सभापतिका लागि धेरै आकांक्षीहरु भएपनि अन्तः पूर्व सभापति तथा संविधानसभाका सदस्य रेशम बानियाँ र वर्तमान सभापति खम्बिर गर्बुजा विच प्रतिस्पर्धा हुने देखिन्छ । संसदीय हिसावले काँग्रेसले म्याग्दीमा २०५६ को निर्वाचनमा मात्र जित हासिल गरेको थियो ।
त्यसपछिका निर्वाचनमा पराजय भोगेको पीडा काँग्रेस सँग छ । भने अर्को तर्फ ६ वटा स्थानीय तह मध्य ४ वटा मा जितेका कारण केही राहत भने भएको छ ।

पछिल्ला केही वर्ष यता जिल्लामा काँग्रेसको संगठन बलियो हुँदै गएको छ ।राजनीतिमा कुनै फेरबदल नआए अवको ७ महिना पछि फेरी स्थानीय तहको निर्वाचन हुनेछ । स्थानीय तहको निर्वाचन लगत्तै भएकाले पनि यतिखेर काँग्रेसमा नेतृत्वको प्रतिस्पर्धा छ । पार्टी सत्तामा रहँदा टिकट मिलाउन सहज हुने भएकाले वडा देखि गाउँ÷नगरको नेतृत्वमा धेरैको चाहाना देखिन्छ ।

विगतमा माओवादी आन्दोलन र नेकपा एमालेको वढ्दो प्रभाव रहेकाले काँग्रेसलाई जित्न निकै कठिन थियो । पछिल्लो अवस्थामा नेकपा एमाले समेत विभाजित बनेको र काँग्रेसले पनि आफ्नो संगठनलाई बलियो बनाउँदै लगेका कारण अव हुने संघ ,प्रदेश र स्थानीय तहको निर्वाचनमा काँग्रेस बलियो हुने आकलन गर्न थालिएको छ ।

२०७४ को निर्वाचनमा पनि पराजय भोगेको काँग्रेसको संगठन केही वर्ष सिथिल जस्तै थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र नेकपा विभाजन सँगै काँग्रेसमा फेरी जागरण आएको हो ।

नेकपा र एमालेको विभाजन पछि काँग्रेस नेता तथा कार्यकर्ताहरुमा यतिखेर जागरण र शक्ति पैदा भएको छ । अर्को तर्फ खमबहादुर (खम्बिर) गर्बुजा को क्रियाशिलताले पनि काँग्रेसको संगठन विस्तारै बलियो हुँदै गएको छ ।

काँग्रेस संगठन बलियो हुँदै जानु र आगमी निर्वाचनमा जितको नजिक रहेकाले पनि पार्टी सत्तामा यसपटक धेरै नेताहरु आकांक्षी देखिनु स्वाभाविक मान्न सकिन्छ । काँग्रेसको यसपटकको अधिवेशनमा राजनैतिक नेतृत्व र फौजी नेतृत्वका विच टकराव देखिएको छ ।

राजनैतिक र वैचारिक रुपमा बलिया मानिनुभएका पूर्व सभापति रेशम बानियाँ र स्वाभावका हिसावले फौजी शैलीका बर्तमान सभापति खमबहादुर (खम्बिर) गर्बुजा का विच निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यी दुई विच वडा तहमा छनौंट हुने प्रतिनिधिमै प्रतिस्पर्धा देखिन्छ ।

अहिलेका नयाँ पुस्ताले राजनैतिक वैचारिक नेतृत्व भन्दा पनि फौजी शैलीको नेतृत्वलाई मनपारेको जस्तो पनि देखिन्छ । त्यस हिसावले गर्बुजा सभापतिका लागि बलिया उम्मेदवार हुनुहुन्छ । तर लामो समय देखि आफ्नो जिवनलाई राजनीतिमा लगाउनुभएका बानियाँ पनि कमजोर भने होइन ।

अहिले एकले अर्कोलाई भित्तामा पु¥याउने खाल सम्मको गुटबन्दी गरेको देखिन्छ । तर अहिलेको अधिबेशनमा सहमतिमै नेतृत्व चयन गरेमा काँग्रेसको भविष्य छ । संघ,प्रदेश र स्थानीय तहको निर्वाचन नजिक रहेकाले पनि पार्टीलाई एकताबद्ध बनाएमा निर्वाचनमा कार्यकर्ताको मनोवल उच्च हुन्छ । निर्वाचनबाट नेतृत्व चयन गर्दा पराजित पक्षमा लामो समय तुष रहिरहन सक्छ । जसले निर्वाचनमा हानी पु¥याउछ ।

बानियाँ र खम्बिर विच प्यानल बनाएर चुनावी मैदानमा उत्रिने तयारी पनि गरेका छन् । तर सभापतिमा अन्य नेताहरुले पनि चाहना व्यक्त गरेका कारण दुवै समुहलाई मिलाउन धौधौ देखिएको छ । काँग्रेस स्रोतले दिएको जानकारी अनुसार सभापतिमा आधा दर्जन नेताले चाहना व्यक्त गरेका छन् । बानियाँ र गर्बुजा बाहेक पूर्व सह–सभापति नेत्र बहादुर महत, वर्तमान उपसभापति माधव प्रसाद रेग्मी, सचिव क्या. मिन बहादुर कार्की र महाधिवेशन प्रतिनिधि चिरञ्जिवी शर्मा पनि सभापतिको दौडमा हुनुहुन्छ ।

काँग्रेसको संस्थापन पक्षका गर्बुजा चुनाव भन्दा सहमतीमा नै नेतृत्व चयन गर्ने पक्षमा हुनुहुन्छ । रामचन्द्र पौडेल निकट पूर्व सभापति बानियाँलाई मनाउन गर्बुजालाई फलामका चिउरा जस्तै हुने देखिन्छ । अन्य पदहरुमा मिले पनि सभापतिमा भने मतदान नै हुने निश्चित जस्तै भएको काँग्रेस कार्यकर्ताहरु बताउँछन् ।

त्यसैगरि सभापतिमा पूर्वसह–सभापति नेत्रबहादुर महतले पनि दाबी गर्नुभएको छ । लामो समय जिल्लामा रहेर आफुले पार्टीको लागि योगदान गरेको आफु पहिला पनि सहसभापति भएको बन्दै उहाँले पनि सभापतिमा दाबी गरेको भएपनि औपचारिक रुपमा घोषणा भने गर्नुभएको छैन । उहाँ देउवा निकट हुनुहुन्छ ।

त्यस्तै जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्की, महाधिवेशन प्रतिनिधि अधिबक्ता समेत रहनुभएका चिरञ्जिवी शर्मा, वर्तमान उपसभापती माधव प्रसाद रेग्मीले पनि सभापतिका लागि तयारी गर्नुभएको छ । अहिले सम्म कुनै पनि नेताले औपचारिक रुपमा उम्मेद्धारी घोषणा भने गरेका छैनन् । धेरै आकांक्षीहरु देखिएपनि अन्तिममा बानियाँ र गर्बुजा विच प्रतिस्पर्धा हुने युवा नेताहरु बताउँछन् ।