तीज गीतका शब्दमा ‘महिलालाई हेलाहोचो’

 विकल्प न्यूज/काठमाण्डौं
साउन २३ गते ।

बिहे गरेर गएका छोरीचेली पर्वमा माइती पुग्छन् । आफू जन्मे–हुर्केको घरभन्दा फरक परिवेशमा पुग्दाका अनुभव तीजमा साट्छन् । तीजको मौलिकतालाई आधुनिकताले ओझेल पार्दै लगेको अनुभव हुन्छ लोकगायिका हरिदेवी कोइरालालाई । ‘तीज माइती र चेलीबीच प्रेम तथा मातृत्व बढाउने ममताको पर्व हो,’ उनी भन्छिन्, ‘महिलाहरूले स्वतन्त्र रूपमा आफ्नो पीडा पोख्ने र उत्साहका साथ तीज पर्व मनाउँछन् ।’

कोइरालाका ‘झलझली सम्झौली आमा’, ‘उडी आयो रानी चरी’, ‘जन्मेको माटो’लगायत तीजगीत चर्चित छन् । ‘अहिलेका तीजगीतमा मौलिक सुगन्ध छैनन्,’ उनी भन्छिन्, ‘जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा अहिलेका गीतहरूको शब्द तथा भाषाशैलीमा मनपरी छ ।’ अहिलेका गीतमा महिलाका पीडा दर्साउनेभन्दा पनि महिलालाई होच्याउने तथा गालीगलौज गर्ने शब्द बढी रहेको र बजारकेन्द्रित मानसिकताले यस्तो विकृति निम्तिएको कोइराला बताउँछिन् ।

पछिल्लो समय तीजका सिर्जनाहरू बजारनियन्त्रित बन्दै जाँदा मौलिकता ह्रास हुनुका साथै महिलालाई नै ‘गिराउने’ खालका प्रवृत्तिलाई बढावा दिएको आरोप सर्जकहरूले खेप्दै आएका छन् । यस वर्ष पनि एक महिनायता युट्युब च्यानलमा सार्वजनिक गीतहरू हेर्दा अधिकांशमा तीजको मौलिकता नभेटिने गरेको गुनासो छ । अधिकांश गीतमा महिलाको व्यस्तता, उनीहरूको सौन्दर्य, बहुविवाह, सासू–बुहारीको कलह, पहिरन, गरगहनाजस्ता विषयलाई केन्द्रित गरिएको छ । ‘तीज गीतमा महिलासँगै समाजका विकृति, विसंगति र प्रवृत्ति देखाउन पाइन्छ तर भाषा र शब्दमा सौहार्दपूर्ण र मिठास हुनुपर्‍यो । हाम्रा गीतहरू आमाले मात्र होइन, बुबा, दाइ, भाइ सबैले सुन्न सकिने हुनुपर्छ,’ कोइराला भन्छिन् ।

पशुपति शर्माको ‘नकचरी आएको’, बबिता बानियाँ र टीका सानुको ‘सौता–सौताबीच कडा झगडा’ लगायत गीतहरूमा महिलालाई आरोप/प्रत्यारोप लगाउने शब्दहरू रहेको भन्दै सामाजिक सञ्जालमा कमेन्ट गरिएका छन् । कला बस्नेतको ‘थोपडाले धोका दियो’ गीतको शीर्षकमा नै महिलालाई सौन्दर्य–वस्तुका रूपमा चित्रण गरिएको छ । नेपाली संगीत तथा अन्य सिर्जनामा पनि पितृसत्तात्मक धार देखिएको लेखक अर्चना थापाको भनाइ छ । ‘महिलालाई केवल वस्तुका रूपमा हेर्ने र अरू नागरिकसरह नहेर्ने हाम्रो समाज छ,’ उनी भन्छिन्, ‘सांस्कृतिक सिर्जना र उत्पादनमा पनि महिलालाई होच्याउने, उपहास गर्ने प्रवृत्ति अहिले निकै देखिएको छ ।’ बजार बिकाउ सिर्जनाकै लागि महिलाका संवेदना र विषयहरूलाई व्यापारीकरण गर्ने हो भने त्यसले दूरगामी असर पार्ने उनको भनाइ छ ।

तीजकेन्द्रित सिर्जनाले सामाजिक तथा सांस्कृतिक पक्षमा खलल पुर्‍याइरहेको लोकसंगीतका सर्जकहरूकै गुनासा सुनिन्छन् । हालै तीजगीत ‘बीच्चबीचमा–४’ मा समावेश गरिएको ‘ख्यास्स पुतली’ शब्दप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आपत्ति जनाउँदै सरोकारवाला पक्षको ध्यानाकर्षण गरायो । संस्कृतिलाई आँच पुर्‍याउने यस्ता जुनसुकै गीतमा प्रतिष्ठानले सर्जकको ध्यानाकर्षण गराउने गरेको प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले सुनाए ।

तीज गीतहरू यसको मौलिकताभन्दा आधुनिक धारतिर बगेको लोकगायक राजु परियारको बुझाइ छ । ‘मैले थाहा पाएअनुसार तीजका भाकाहरू तीज र पञ्चमीको लागि नै भनेर नै सिर्जना हुन्थे,’ उनले भने, ‘आमाहरूले भदौमा कोदो रोप्ने बेलामा सिर्जना गरेका भाकाहरू तीजमा गाउनुहुन्थ्यो रे । अहिलेको सिर्जनामा मेलोडी नै फरक छ । गीतहरूलाई तीजको गीत भन्ने कि नभन्ने त्यही नै अलमल छ ।’

तीज शब्द जोडिनेबित्तिकै त्यसमा पर्वको सुगन्ध आउनुपर्ने लोकगायिका कोइरालाको जोड छ । ‘रातो सारी लगाएर नाच्दैमा र तीजको बेलामा गाउँदैमा सबै तीजगीत हुँदैनन् । निधारमा टीका त अन्य बेला पनि लगाइन्छ । तर दसैंको टीका र अरू बेला लगाउने टीकामा धेरै फरक छ । तीजका गीत पनि तीजकै जस्तो हुनुपर्छ ।’ भाषा, वेशभूषा र शब्दहरूलाई कसरी समयअनुसार परिमार्जन गर्ने र समाज सुहाउँदो बनाउने, सर्जकहरूलाई हेक्का हुनुपर्ने उनको भनाइ छ ।

‘लोकप्रियता र क्षणिक मनोरञ्जनका लागि सर्जक बजार ट्रेन्डिङ धारको गतिमा दौडिरहेका छन्,’ लेखक थापा थप्छिन्, ‘हामी हरेक ठाउँमा लैंगिक समानता र महिला अधिकारका कुराहरू गर्दै आइरहेका छौं । तर गीत बेच्ने नाममा हामी महिलालाई नै उडाइरहेका छौं । यो महिलालाई हेला गर्ने समाजको प्रवृत्ति हो ।’

त्यसै गरी तीजका भाकामा शब्द मात्र नभएर भाव नै परिवर्तन गरिँदै आएको लोकगायक रेशम सापकोटा स्विकार्छन् । उनी भन्छन्, ‘तीज गीतमा दाजुभाइ, दिदीबहिनी, आमाछोरी, बुबाछोरी बीचको प्रेम हुन्छ र उनीहरूको पीडा साटासाट हुन्छ । तर यता जस्तो पनि तीज गीत बन्न थालेका छन् । तीजगीतका नाममा व्यावसायिकताकै हालीमुहाली छ ।’

धर्म र महिलासँग जोडिएको तीज पर्वको मौलिक महिमा रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । ‘एक वर्षमा महिला दिदीबहिनीहरूको खुसियालीमा पुरुषहरू पनि मादल बजाउन सहभागी हुन्थे र महिलाहरू आफ्नो दु:ख गीतमार्फत नै पोख्थे,’ उनी भन्छन्, ‘तर अहिले पुरुषहरू नै बढी हाबी भएको देखिन्छ ।’ उनका अनुसार भड्किलो पहिरनसँगै गीतको मौलिकता नै तोडमरोड गरिनु संस्कृति र सभ्यतामाथि नै आँच पुर्‍याउनु हो । सिर्जनाहरू ग्रामीण जनजीवनमा केन्द्रित भई समग्र महिलाको सामाजिक तथा सांस्कृतिक जीवनलाई बोल्ने हुनुपर्ने उनको बुझाइ छ । kantipur