मोना यूकेद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी, जेठ १४ गते ।


म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका छन् ।

मोना यूकेले बेनी अस्पताललाई १ थान, मोना आइसीमार्फत म्याग्दीमै आउने गरी १ थान र बेलायतस्थीत नेपाली दुतावासलाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको अध्यक्ष दल जुग्जालीले बताउनुभयो ।

उहाँले म्याग्दी जिल्लाका बिरामीलाई उपचारका लागि कुनै समस्या हुन नदिन भविस्यमा समेत थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

मोना यूकेको जुम मिटिङबाट जिल्लामा अक्सिजनको आवश्यकता परेकाले तत्काल ब्यवस्थापनमा जोड दिइएको महासचिव लालु पुनले जानकारी दिए ।

अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ ।

एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्।

जिल्लामा सकेसम्म हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत आवश्यकता देखिएको छ ।

मोना यूकेमार्फत म्याग्दीमा यसअगाडी रेडक्रस सोसाईटीमार्फत सञ्चालन हुने गरी एम्बुलेन्स सहित विभिन्न क्षेत्रमा सहयोग समेत भएको छ ।

अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गदैं मोना यूकेका प्र,तिनिधि राजु पुन ।