ताजा समाचार:
Search

‘शैक्षिक गुणस्तरको आधार तयार पार्दैछौं’

विकल्प न्यूज/बेनी
माघ २२ गते ।  
वि.स २०४८ मा समुदायको अगुवाईमा बेनीमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्लो समय केही सुधारको कामहरु भएका छन् । उच्च शिक्षा प्रदान गर्ने जिल्लाकै अग्रणी शैक्षिक संस्थाका हिसाबले म्याग्दी क्याम्पसले गुणस्तर सुधारको पहल गरेको छ । मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायमा कक्षा ११ देखि स्नातक तथा व्यवस्थापन संकायमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन भइरहेको क्याम्पसमा एक हजार जना भन्दा बढी विद्यार्थी छन् । प्राबिधिक विषयको पढाई सुरु गर्न सम्भाव्यता अध्ययनमा रहेको म्याग्दी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायण (क्युएए) तर्फ अघि बढेको छ । यसै सन्दर्भमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीसँग पत्रकार सन्तोष गौतमले गरेको कुराकानी ।   

सम्वादमा यहाँलाई स्वागत छ ।
धन्यवाद
म्याग्दी बहुमुखी क्याम्पसको पछिल्लो गतिबिधि बताइदिनुहोस न ?

म्याग्दी बहुमुखी क्याम्पसको पछिल्लो चरणमा हामीले केही महत्वपूर्ण काम गरेका छौ । विगत एक वर्षअघि हामी जब नयाँ सञ्चालक समिति निर्वाचित भएदेखिनै नियमित रुपमा क्वालिटी, एसोरेन्स एग्रोडिटेसन (क्युएए)को काममा अग्रसर भएका छौ ।

जसले क्याम्पसको समग्र भौतिक, शैक्षिक, प्राज्ञिक लगायत सबै कामको नेतृत्व गर्छ । त्यो हाम्रो मुख्य गाइडलाइन हो । यसैमा आधारित रहेर क्याम्पसलाई गुणस्तरमा रुपान्तरण गर्ने प्रयासमा जुटेका छौ ।

क्यूएएका लागि के के गतिबिधि भएको छ ?

क्याम्पसमा क्युएएको स्याट टोली गठन गरेका छौ । गोखरबहादुर जिसीको संयोजकत्वमा गठन भएको स्याट टोलीले क्याम्पसको मौजुदा बस्तु अवस्थाको सेल्फ स्टडी (स्वअध्ययन) गरेर प्रतिवेदन तयार पारेको छ । क्वालीटी एक्युरेन्स सँग सम्बन्धीत १२० वटा सूचकलाई आधार मानेर टोलीले प्रतिवेदन तयार पारेका थियो । समयसिमा सहित विश्व विद्यालय अनुदान आयोगमा प्रतिवेदन बुझायौ ।

सूचक अनुसार तत्कालै सुधारको काम गर्न आयोगले अनुदान पनि दियो । त्यही आधारमा रहेर फिल्डमा सुधारको काम गरेका छौ । पछिल्लो चरणमा क्याम्पसमा भौतिक, शैक्षिक व्यवस्थापन, प्रशासनिक सुधारका कामहरु भएका छन् । सुधारका कामलाई चुस्त दुरुस्त बनाएर डकुमेन्टेशन गरेका छौ । कक्षा कोठादेखि प्रशासनिक, सञ्चालक समितिमा आन्तरिक काम धेरै भएका छन् । ठूलो मात्रामा रुपान्तरणको काम गरेका छौ ।  क्युएए भनेको के हो ? शैक्षिक गुणस्तरका हिसाबले यसलाई कसरी लिन सकिन्छ ?
क्युएएलाई अंग्रेजीमा क्वालीटी एसोरेन्स एग्रोडिटेशन र नेपालीमा गुणस्तर सुनिश्चितता प्रत्यायण भनिन्छ । यो शैक्षिक गुणस्तरको मात्र नभएर भौतिक जस्तै यहाँको खानेपानी, पुस्तकालय, प्रशासन लगायत सबै पक्षको व्यवस्थापन र हरेक कुरामा गुणस्तर सुधार गर्न खोजेको हो । स्मार्ट सिटी, स्मार्ट नगरपालिका भन्ने टर्मिनोलोजी जस्तै क्याम्पसलाई पनि स्मार्ट र सबै कुरामा एक लेभलको बनाउने भन्न खोजेको हो । त्यसका लागि धेरै सूचकको आधारमा व्यवहार र फिल्ड (कार्यक्षेत्र)मा रुपान्तरण तथा सुधार गर्नुपर्छ । हाम्रो भौतिक संरचनाले शैक्षिक गुणस्तरसँग मापन गर्ने हुनुपर्छ ।

प्रशासनको कोठा, प्रमुख, अध्यक्ष, बैठक हल, कक्षा कोठा, पुस्तकालय, छात्रावास, कम्पाउण्ड, खेलमैदान लगायत सबै भौतिक वातावरण चुस्त दुरुस्त बनाइरहेका छौ । सुझाव अनुसार अझै सुधार गरिरहेका छौ । शैक्षिक हिसाबले हाम्रा बिद्यार्थीको रिजल्ट नेशनल लेभल भन्दा माथि हुनुपर्छ । अझै माथिको अपेक्षा गरेर गुणस्तर सुधार गरेर लैजानुपर्छ । हाम्रा विद्यार्थी बजारमा विकाउ हुनुपर्छ ।यसका लागि हाम्रो स्याट टिमले नियमित विवरण संकलन गरिरहेको छ । यो क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु रोजगार, पेशा व्यवसाय के गरिरहेका छन भनेर अध्ययन गरिएको छ । म्याग्दी क्याम्पसमा गुणस्तरको लागि आधार तयार पार्दै छौ । नियमित कक्षाका अलावा पठनपाठनलाई अनुसन्धानमुलक र व्यवहारिक बनाउन लागेका छौ । भोकेशनल, रिसर्च, लोकसेवा, शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गर्न खोजेका छौ ।

अनुसन्धानमा विद्यार्थीलाई संलग्न गराउछौ । शिक्षकहरुका लागि अनुसन्धान सम्बन्धी तालिम सञ्चालन गरिसकेका छौ । क्याम्पसमा पढाई हुने शिक्षा, व्यवस्थापन र मानविकी संकायमा अध्ययन गरेका विद्यार्थीहरुलाई तालिमप्राप्त र बिकाउ तथा प्रतिस्पर्धामा अगाडी आउन सक्ने हुन्छन् ।

क्युएए लागू भएपछि सामाजिक हिसाबले के फाइदा हुन्छ ? 

अहिले क्याम्पसमा अध्ययन गर्ने ९० प्रतिशत विद्यार्थीहरुको हातमा पासपोर्ट छ । विद्यार्थीहरुमा विदेशमा मात्र सम्भावना देख्ने समस्या छ । कक्षा छाड्ने दर धेरै छ । ४० प्रतिशत ड्रप आउटको दर छ । विदेशमा जाने होइन आफ्नै देशको कर्मचारी, शिक्षक, सेना, प्रहरी, बैङकर, व्यवसायी बनाएर विद्यार्थीलाई समाजमा निकाल्नुपर्ने आवश्यकता छ । म्याग्दीमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक नपाउने समस्या छ ।

हामीले स्थानीय तहहरुसँग एक चरण छलफल गरेका छौ । क्याम्पसलाई अनुदान दिनुहोस हामी आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्छौ भनेर प्रस्ताव गरेका छौ । म्याग्दीको नेतृत्वदायी शैक्षिक संस्था भएको हिसाबले जिल्लाको लागि आवश्यक जनशक्ति तयार पारेपछि पक्कै पनि समाजिक हिसाबले सकारात्मक प्रभाव पार्छ । गुणस्तर सुनिश्चितता भएका कारण यहाँ पढेका विद्यार्थीले रोजगारीका क्रममा प्राथमिकता र अवसर पाउँछन् । रोजगारीका लागि विदेशिने समस्या न्युनीकरण गर्न सकेमा समाजलाई फाइदा पुग्छ ।

क्याम्पसको यो अभियानमा समुदाय, स्थानीय सरकार, क्याम्पस प्रशासन, विद्यार्थी संगठनहरुको कस्तो सहयोग पाउनुभएको छ ?
स्थानीय सरकारको रुपमा रहेको बेनी नगरपालिका प्रमुख र वडा अध्यक्ष क्याम्पस सञ्चालक समितिको पदेन सदस्य हुनुहुन्छ । उद्योग वाणिज्य संघ, विद्यार्थी संगठनको प्रतिनिधिको रुपमा स्ववीयु पनि पदेन सदस्य छन् । पूर्व विद्यार्थी मञ्च र अभिभावक संघ गठन गरेका छौ ।

यो क्याम्पस स्थापना देखि अहिलेसम्मको अवस्थामा आउँदासम्म बजारबासी, जिल्लाबासी र प्रवासीहरुको ठूलो योगदान र सहयोग छ । २०४८ सालमा स्थापना गर्दा होस या दुई वर्षअघिको महायज्ञमा समुदायको राम्रो सहयोग पाएका छौ । क्याम्पसका प्राध्यापक, कर्मचारीहरुको राम्रो सहयोग र साथ छ । राती सम्म खटिएर काम गर्नुभएको छ । क्याम्पसलाई जागिर खाने ठाउँको रुपमा हेरिने विगतको प्रवृति छैन् ।

यद्यपी यसलाई बुझाउन हामीलाई केही समय लाग्यो । क्याम्पसलाई पूर्ण समय दिने प्राध्यापक कर्मचारीहरुको संख्या ठूलो छ । संकायहरुको आ आफ्नै कार्ययोजना बनाइएको छ । निजी विद्यालयमा जस्तै आन्तरिक परिक्षा गराउदैछौ । आन्तरिक परिक्षामा सहभागि हुने विद्यार्थी मात्र छात्रवृति सुबिधामा छनौट हुन पाउँछन् । अतिरित्त कक्षा सञ्चालन यही गर्छौ । सञ्चालक समिति अन्तरगत गठन भएका विभिन्न समिति र उपसमितिहरु सक्रिय हुनुहुन्छ । क्याम्पस सञ्चालक समितिले गरेका निर्णयहरु तत्कालै कार्यान्वयन गरेका छौ ।

म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्ने चर्चा चलेको थियो । त्यो के भइरहेको छ ?

स्नाकोत्तर तह र प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्य राखेर दुई वर्षअघि महायज्ञ आयोजना गरिएको थियो । जस अनुसार व्यवस्थापन संकायमा गत वर्षदेखि सुरु भएको स्नाकोत्तर तहको पठनपाठन यसवर्ष दोस्रो वर्षमा चलेको छ । जनशक्ति र विद्यार्थी अभाव यसमा चुनौति देखिएको छ ।

प्राबिधिक शिक्षाको सन्दर्भमा गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा क्याम्पसमै सरोकारवालाहरुबिच छलफल पनि भएको छ । कुन प्राबिधिक विषय पढाउदा प्रभावकारी र दिगो हुन्छ भन्ने विषयमा अध्ययनमा छौ । सरकारले सबै स्थानीय तहमा पनि प्राबिधिक विद्यालय सञ्चालनको अवधारण ल्याएको छ । प्रदेश सरकारले प्राबिधिक महाविद्यालयको योजना अघि सारेको छ । स्थानीय तहमा भन्दा फरक किसीम र आवश्यकताको आधारमा सम्भावना भएको विषय छनौट गरेर सञ्चालनको प्रक्रियामा छौ ।
म्याग्दी बहुमुखी क्याम्पसको चुनौती के के हुन ?

क्युएएका लागि हालै एसएसआर रिपोर्ट बुझाएपछि विश्व विद्यालय अनुदान आयोगका डाक्टर बासुदेव रेग्मी, नारायण भण्डारी लगायतको पियर रिभ्यु टिम आएर तीन दिनसम्म क्याम्पसको अवस्था परिक्षण ग¥यो । सो टोलीले दिएको सुझावको आधारमा केही सुधारको काम गर्नुपर्ने छ । त्यसका लागि डेटलाइन सहितको सम्झौता भएको छ ।

केही आन्तरिक सुधारको काम गरेर अबको तीन चार महिनाभित्र आइएसओ मान्यताप्राप्त गुणस्तरको प्रमाणपत्र ल्याउनु हाम्रो प्रमुख चुनौती हो । क्युएएको प्रमाणपत्र ल्याएर मात्र भएन त्यसलाई निरन्तरता दिनु र टिकाई राख्नु, अझ गुणस्तर सुधार गर्नु थप चुनौती हुन् । हामीले गुणस्तरलाई टिकाउन सकेनौ भने ५ वर्षपछि प्रमाणपत्र खोसीन सक्छ । यो म्याग्दी क्याम्पसका लागि मात्र होइन् जिल्लाबासीको लागि पनि अवसर हो । १०, १२ करोड रुपैयाँ अनुदान आउँछ । अरुले हाम्रो क्याम्पसलाई फलो गर्ने वातावरण बन्छ ।

समय र सम्बादका लागि यहाँलाई धन्यवाद ।

म्याग्दी क्याम्पसलाई यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद ।
रिखार दैनिकबाट