काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ ।
लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि हुन्छ ।
५ लाख भन्दा बढि मानिसमा गरिएको अध्ययनका आधारमा शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् की लामो समयसम्म लगातार काममा खटिइरहँदा तनाव बढ्ने र त्यस्तो तनाव हृदयाघात तथा अन्य खाले स्वास्थ्य समस्या कारण बन्दछ ।
त्यसैले लामो समयसम्म काम गर्ने मानिसले अकाल मृत्युबाट बच्नका लागि आफ्नो रक्तचापको नियमित परीक्षण गराउनुपर्ने विशेषज्ञ बताउँछन् ।
अध्ययनका क्रममा हप्तामा ३५ देखि ४० घण्टा काम गर्नेको तुलनामा हप्तामा ४८ घण्टा काम गर्ने मानिसमा हृदयाघातको सम्भावना १० प्रतिशत उच्च रहेको पाइएको थियो ।
त्यस्तै हप्तामा ५४ घण्टा काम गर्नेमा २७ प्रतिशत तथा ५५ घण्टा काम गर्नेमा ३३ प्रतिशत बढि पाइयो ।
युनिभर्सिटी कलेज अफ लण्डनका डाक्टर मिका किविमाकीका अनुसार हरेक ३५ देखि ४० घण्टा प्रति हप्ता काम गर्ने मानिसहरुमा हरेक १० वर्षमा विश्लेषण गर्दा हृदयाघातको घटना प्रतिहजार ५ जना भन्दा कम पाइएकेा छ ।
जबकी ५५ घण्टा प्रतिहप्ता काम गर्नेमा यो संख्या प्रतिहजार ६ जना थियो ।
पछिल्लो शोधको निष्कर्ष सुरुवाती निष्कर्ष रहेको भन्दै शोधकर्ताले यसमा अझै अनुसन्धानको खाँचो रहेको बताएका छन् ।
हृदयाघातका कारणमा लामो समयसम्म काम गर्दा उत्पन्न हुने तनावका साथै लामो समयसम्म बसिरहेर काम गर्दा उत्पन्न हुने जोखिम समावेश हुन्छ ।
त्यस्तै लामेा समयसम्म कार्यस्थलमा बसेर काम गर्नुपर्दा व्यायाम तथा सन्तुलित भोजनको अवसर पनि कम मिल्ने हुनाले मानिसको स्वास्थ्यमा नकारात्मक असर पुग्दछ ।
त्यसैले कार्यसमयलाई सरीरले थेग्नसक्ने बनाउनुका साथै स्वस्थ खानपान, जिवनशैली अपनाउनुका साथै कार्यालयमा बसिरहनु भन्दा बेलाबेलामा कुर्सीबाट उठेर यताउती हिँड्ने तथा शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्ने शोधकर्ताहरुको सल्लाह छ ।