“विकसित देविस्थान” मेरो सपना ः अध्यक्ष पिपला बुढा

विकल्प न्यूज/बेनी
साउन २६ गते । pipala bhuda स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर बिजयी हुनुभएकी मालिका गाउँपालिका ५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढा म्याग्दीमै एक्ली महिला वडाअध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा विकसित देविस्थान बनाउने सपना बुन्नुभएको छ । लामो समय देविस्थानको सामाजिक क्षेत्रमा उहाँ क्रियाशिल हुनुहुन्थ्यो । जनप्रतिनिधि निर्वाचित हुनु अघि गाउँमा सञ्चालीत विभिन्न योजनाहरुको सफल रुपमा कार्यान्वयन गरेर स्थापित महिला नेतृको छवि बनाउनुभएको थियो । लामो समय सामाजिक नेतृत्वको अनुभव संगालेकी वुढा सँग देविस्थानको विकास निर्माणको अवस्था,भावि योजना र अनुभवका वारेमा केन्द्रित रहेर नवविकल्प साप्ताहिकका लागि सम्पादक ठाकुरप्रसाद आचार्यले गरेको कुराकानी अंश ।

 निर्वाचित भएपछिको डेढ वर्षको अनुभव कस्तो रहयो ?

निर्वाचित हुनुभन्दा पहिला पनि सामाजिक सेवामा मै थिएँ । निर्वाचित भएपछि अलि जिम्मेवारी वढेको महशुस भएको छ । केही राम्रा र केही नराम्रा अनुभवहरु छन् । जनताको सेवा गर्न पाउँदा खुसी पनि लागेको छ भने अर्को तर्फ सोचेजस्तो काम गर्न नसक्दा दुःख पनि लागेको छ । जनताको सेवा गर्न पाउँदा समग्र रुपमा राम्रै मान्नुप¥यो ।

 गत वर्षमा देविस्थाको विकासका लागि कति बजेट विनियोजन भएको थियो ?
गाउँपालिकाबाट देविस्थानको विकास निर्माणका लागि एक करोड ४ लाख रुपियाँ विनियोजन भएको थियो । भौतिक पूर्वाधार,वातावरण तथा विपद व्यवस्थापन र सामाजिक विकास तर्फ गरि जम्मा ३७ ओटा योजनाहरु थिए ।

बजेट कार्यान्वयनको अवस्था कस्तो रहयो ?

गाउँघरमा काम गर्न कठिन नै छ । उपभोक्ता समितिमा वस्ने व्यक्ति नै पाइदैन । बल्ल बल्ल उपभोक्ता समितिमा वसे पनि काम गर्न सजिलो छैन । युवाहरु विदेश छन् । महिला र वृद्धवृद्धाहरु मात्र गाउँमा छन् । योजनाहरुमा काम गर्ने श्रमिकको अभाव छ । बजेट त गाउँमा आउँछ तर सफल रुपमा कार्यान्वयन गर्न चुनौति छ । सामाजिक काम गर्ने भनेपछि कोहि अघि सर्दैनन् । विविध अफ्ठ्याराहरु भएपनि गत आवको बजेट कार्यान्वयनको अवस्थालाई हेर्दा सन्तोषजनक नै मान्नुपर्दछ । पहिला भन्दा जनप्रतिनिधिहरु आएपछि बजेट कार्यान्वयनको स्थितिलाई राम्रो मान्नुपर्दछ ।

विनियोजन भएका सवै योजनाहरु सम्पन्न भए नी !
भौतिक पूर्वाधार तर्फका योजनाहरु हामीहरुले समयमै सक्यौ । जनताको साथ र सहयोग मिलेकाले योजनाहरु समयमै सम्पन्न गर्न सहजता भयो । केही सामाजिक विकास तर्फका योजनाहरु भने सम्पन्न गर्न कठिनाई भयो । योजनाहरु समयमै सक्नुपर्ने गाउँपालिकाको निर्देशन थियो त्यहि अनुसार हामीले रातदिन नभनी काम खटिनु प¥यो ।

 यहाँ जिल्लामै एक्ली महिला वडा अध्यक्ष हुनुहुन्छ यहाँका महिलाहरुको अपेक्षा के के छन् ?
महिला दिदिबहिनीहरुका धेरै अपेक्षाहरु छन् । उहाँहरुले म प्रति धेरै आशा राख्नुभएको छ । महिलाका क्षेत्रमा मैले धेरै कामहरु गर्नुछ । महिलाहरुमा अझै पनि चेतनाको कमि छ । महिलाहरुलाई सचेत बनाउँदै विकास निर्माणमा अग्रसर बनाउने मेरो सोच छ । मेरो कार्यकालमा कमसेकम देविस्थानका हरेक विकास निर्माण र सामाजिक कार्य गर्न जुझारु महिला नेतृत्व जन्माउने मेरो लक्ष्य छ ।

 महिला भएकै कारण कुनै अफ्ठ्यारो छ की छैन ? नियम भन्दा वाहिरको काम गर्न कुनै दवाव आएको छ की छैन ?

हुन्छ नी कहिले काही सर । नियम अनुसार हुने काम म सहजै गर्ने गरेको छु । दवाव त आउँछ सर ! तर म कसैको दवावमा परेर काम गर्दिन । म नियम कानुन भन्दा बाहिर गएर काम गर्दिन ।

देविस्थानलाई हजुरको कार्यकालमा कस्तो बनाउने सपना छ ? 
हा हा हा सपना देख्ने मात्र रहेछ हा हा हा । पहिलाको तुलनामा रकम धेरै पनि आउँछ । तर सोचेजस्तो गर्न त सकिदैन । तर इच्छा शक्ति भयो भने केही परिवर्तन त गर्न सकिएला नि ! देविस्थानलाई पर्यटनमा विकास गर्ने सोच छ । कृषिको विकास गर्ने सोच छ । देविस्थानमा भएका धार्मिक स्थलहरुलाई पहिचान गरेर विकास गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ कि भन्ने मेरो योजना छ । देउता भिर,देविथान,गाइखर्क दह र मालिका छ । यि क्षेत्रहरुमा भौतिक पूर्वाधारको विकास गरेर पर्यटन प्रवद्र्धन गर्ने सोचमा छु । मेरो कार्यकालमा देविस्थानवासीहरुले गर्ब गर्ने लायक काम गर्दछु भन्ने छ । देविस्थानवासीहरुले मलाई जुन विश्वास गरेर मत दिनुभयो र काम गर्ने अवसर प्रदान गर्नुभयो यसलाई म पूर्ण रुपमामा सदुपयोग गर्ने छु । विकसित देविस्थान बनाउने मेरो अठोट छ । यसका लागि सवै पक्षको सहयोगको अपेक्षा मैले लिएकी छु ।

 देविस्थान सम्म आइपुग्न सडकको अवस्था राम्रो देखिएन नी ? 

मालिका गाउँपालिका केन्द्र दरवाङलाई जोड्ने सडकलाई गाउँपालिकाले पनि गौरबको योजनामा पारेको छ । यस वर्ष पनि सडकमा रकम विनियोजन भएको छ । आशा छ केही वर्ष भित्र उक्त सडकलाई बाह्ै महिना सवारी साधन सञ्चालन गर्नसक्ने बनाउछौं ।

 केही नयाँ कामको सुरुवात गर्नुभएको छ की !

सार्वजनिक स्थलहरुमा मदिरा सेवन,जुवातास लगायतका विकृतिजन्य कार्यहरुलाई आमा समुहको सहयोगमा बन्देज लगाएका छौं । वडाबाट प्रवाह हुने सेवासुविधाहरुलाई जनमुखी,पारदर्शी र सरल बनाउनका लागि प्रयास गरेको छु । नवविकल्पमा प्रकाशित