ताजा समाचार:
Search

समाजसेवा खुसी साट्ने अवसर हो : कुल आचार्य

विकल्प न्यूज/पर्वत
माघ १८ गते ।kulacharya कुल आचार्य गैर आवासीय नेपाली संघ ‘एनआरएनए’को उपाध्यक्ष हुन् । गत अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा भएको एनआरएनको आठौ विश्व सम्मेलनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । पर्वतको जलजला गाउँपालिका धाईरिङका कुल प्रसाद आचार्य यस अगाडी यूरोप संयोजकको जिम्मेवारी सम्हालेका थिए । बेलायतका सफल नेपाली व्यवसायी समेत रहेका आचार्य एनआरएन बेलायतको पूर्वअध्यक्ष समेत हुन् । ब्यवसाय संगै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेका आचार्यले जन्मगाउँमा रहेको कृष्ण भवन धर्म उच्च माध्यामिक विद्यालय, मल्लाजको विद्याज्योती माविमा कम्प्यूटर सहित विद्युतिय पुस्तकालयका साथै विभिन्न सहयोगहरु गरेका छन् ।

उनले गाउँमा रहेको विद्यालयमा स्वर्गिय पिताको सम्झनामा अक्षय कोषका साथै विभिन्न सामाजिक सहयोगहरु समेत गरेका छन् । उनले म्याग्दीमा मोना यूकेले सञ्चालित एम्बुलेन्स, बालबालिकालाई लक्षित गरी अक्षय कोष, गलेश्वरको वृद्धाश्रमलाई समेत ५ लाखका साथै शिक्षा, स्वास्थ्यमा समेत सहयोग गरेका छन् । एनआरएन यूकेको अध्यक्ष हुदाँ हिमाली जिल्लामा प्रसुती सेवाको भवन बनाएर लोकप्रियता कमाएका आचार्य गैरआवासीय नेपाली बिच निकै लोकप्रिय छन् । एनआरएनको आठौँ विश्वसम्मेलनमा सात बुँदे प्रतिबद्धता सहित उम्मेदवारी दिएर निर्वाचित भएका एनआरएन उपाध्यक्ष कुल आचार्यसँग विशन क्षेत्रीले गरेको कुराकानीको संक्षिप्त अंश ः
एनआरएन उपाध्यक्ष भईसकेपछि तपाईले शुरु गरेको पहिलो काम के हो ?
नेपाल हुँदा म जहिले पनि पहिला गाउँ जाने गर्छु र केही कल्याणकारी कामहरु गर्ने गर्छु । यसपटक पनि उपाध्यक्ष जीतेको भोलिपल्टै म आफ्नो जन्मथलो गएँ र दधि आचार्य अध्यक्ष रहेको संस्था पर्वत वेलफेयर सोसाईटी युकेले आयोजना गरेको कार्यक्रममा पर्वत जिल्लामा रहेका दृष्टिविहीनहरुको सहयोगार्थ रु दश लाख हस्तान्तरण गर्ने मौका पाएँ । यसलाई मैले एउटा खुसी साट्ने अवसरको रुपमा पनि लिएको छु ।

विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न कसरी प्रोत्साहित गर्नुहुन्छ ?
विदेशमा विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरुको सीप र लगानी नेपाल भित्र्याउन हामीले लामो समयदेखि प्रयास गरिरहेका छौं । वास्तवमा हामीले लगानी भन्दा आर्थिक लगानी मात्रै सम्झनु हुँदैन । हामीले विकसित देशमा सिकेको ज्ञान र सीप तथा आर्जेको पूँजी नेपाल र नेपालीको कल्याणमा लगाउन चाहन्छौं । बौद्धिक र आफुसँग भएको सीप र दक्षताको हस्तान्तरणलाई पनि लगानीको रुपमा हेर्नुपर्दछ । हाल पनि नेपालमा एउटा ठूलै लगानी भित्र्याउन संसारभरि साथीहरुसंग सरसल्लाह गरिरहेका छौं र यसबारे छिट्टै घोषणा गर्नेछौं । यसकालागि कार्ययोजना पनि तर्जुमा गर्दैछौं ।

तपाईं लामो समयदेखि एनआरएनएको नेतृत्व तहमा हुनुहुन्छ, नेपालमा एनआरएनएले गरेका काम के के हुन ?
स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघले नेपालमा संयुक्त लगानी, परोपकारी कामहरु र संगठनलाई मजबुत बनाउने काम गर्दै आएको छ । सन् २०१५ मा आएको विध्वंशकारी भूकम्पपछि गोर्खा जिल्लामा भूकम्प पीडितहरुकालागि नमुना आवास बनाउने काम पूर्व अध्यक्ष शेष घलेज्यूको अगुवाइमा शुरु भएको हो र हाम्रो कार्यसमितिले पनि त्यसलाई निरन्तरता दिइरहेको छ । हामीले विकसित देशमा सिकेको ज्ञान र सीप तथा आर्जेको पूँजी नेपाल र नेपालीको कल्याणमा लगाउन चाहन्छौं । त्यस्तै, नाकाबन्दीका बेला औषधि वितरण, बाढीपीडितहरुलाई मानवीय सहयोग र बाग्मती नदी किनारस्थित शंखमूल पार्क निर्माणजस्ता कामहरु भैरहेका छन् । यसबाहेका जलविद्युत, बैंकहरु, होटल तथा स्वास्थ्य क्षेत्रमा पनि गैरआवासीय मित्रहरुले लगानी गरिरहनु भएको छ ।
भविष्यमा नेपालमा के के परियोजना गर्ने तयारी छ, एनआरएनको भिजन के हो ?
एनआरएनको भिजन भनेको समृद्ध नेपालको निर्माणमा सक्दो योगदान पु¥याउने नै हो । हामीले विकसित देशमा सिकेको ज्ञान र सीप तथा आर्जेको पूँजी नेपाल र नेपालीको कल्याणमा लगाउन चाहन्छौं । गैरआवासीय नेपाली खेम शर्मा र साथीहरुले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई सफा तुल्याएर अहिले संसारभरिका हिन्दुहरुको आस्थाकेन्द्र पशुपतिनाथ परिसरलाई सफा तुल्याउन लागीरहनु भएको छ ।

उज्यालो नेपाल, विद्यालयहरुमा पुस्तकालय बनाउने काम गैरआवासीय नेपालीहरुले उदाहरणीय काम गरिरहेका छन् । यसबाहेक एनआरएनहरुको लगानीले हजारौं रोजगारी सिर्जना गरेको छ । हामी अरु क्षेत्रमा पनि यस्तै रचनात्मक काम गर्ने प्रयासगरिरहेका छौं ।

एनआरएनको नेतृत्व तहमा रहँदा पर्वतको समृद्धिको लागि तपाईको कुनै योजना के छ ?

हालै अन्तर्राष्ट्रिय पर्वत समाजको गठन भएको छ र समाजले पर्वत जिल्लाको विकासकालागि उल्लेखनीय परियोजना बनाउने जिम्मा मलाई दिएको छ । साथीहरुसँग सल्लाह गरी मैले छिटै यसबारे घोषणा गर्ने छु । खासमा यो समाजको उद्धेश्य नै पर्वतलाई समृद्ध बनाउने हो । हामीले योजना बनाएर काम गर्नेछौँ ।
अन्तर्राष्ट्रिय पर्वत समाजले ‘एक करोडको परोपकारी कोष’ स्थापना गर्ने घोषणा गरेको छ । यसमा एनआरएनको सहयोग कस्तो रहनेछ ?
एक करोडको परोपकारी कोष स्थापना गर्ने अन्तर्राष्ट्रिय पर्वत समाजको प्रयास अत्यन्तै सह्राहनीय छ । म यसमा संलग्न सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु । अब हामीले यो घोषणालाई जतिसक्दो चाँडो यथार्थ बनाउनु पर्छ ।  त्यस्तै ६ महिनाभन्दा बढी अवधि देशबाहिर बस्ने सबै नेपाली एनआरएन हुन् । त्यसैले विभिन्न तह र तप्कामा रहका पर्वतका साथीहरु विभिन्न एनआरएन एनसिसिहरुमा अध्यक्ष लगायत अन्य जिम्मेवार पदमा हुनुहुन्छ । उहाँहरुले आआफ्नो क्षेत्रबाट पर्वत जिल्लाको समग्र विकासकालागि योगदान गरिरहनुभएको छ । त्यसैलाई नै एनआरएनको सहयोगको रुपमा पनि हेर्नुपर्ला ।
अन्तमा तपाईले भन्नुपर्ने केही कुरा ? 
नेपाल बाहिर बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुले जननी तथा जन्मभूमिको ऋण तिर्न र नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाउन आआफ्नो ठाउँबाट सकृय रहन म हार्दिक अपील गर्दछु । parbatnepal.com