तीन महिनाभित्रमा सबै विवाद सुल्झाउने तहको समझदारी बनाउनमा दिल्लीको प्रयत्न

मंसिर २१, २०७२- ‘मधेसमा जारी आन्दोलन र नाकाबन्दीको स्थितिलाई आन्तरिक राजनीतिक समस्या भनेर नेपालले पहिचान गरेकोमा धन्यवाद’ भन्दै भारत सरकारले अब निश्चित कार्ययोजनासहितको राजनीतिक रोडम्यापमा आश्वस्त भएर अघि बढ्न मधेस मोर्चासम्बद्ध नेताहरूलाई आग्रह गरेको छ।

आन्दोलित मधेसको सरोकार र नेपालको राजनीतिक अवस्थाबारे छलफल गर्न दिल्ली आएका मधेसी मोर्चाका नेताहरूसँग आइतबार साँझ हैदरावाद हाउसमा ‘डिनर मिटिङ’ गर्दै विदेशमन्त्री सुष्मा स्वराजले समावेशी नेपालका पक्षमा भारतले सदैव साथ–सहयोग दिने बताइन्।

‘दुई देशबीच रहिआएको खुला सिमानाको विशेषताका माझ सीमावर्ती मधेस क्षेत्रमा जारी आन्दोलन र समावेशी लोकतन्त्रको पक्षमा हामीले सरोकार राख्न चाहेका हौं,’ विदेशमन्त्री स्वराजले बैठकमा राखेको धारणाबारे स्रोतले भन्यो, ‘अहिले देखिएको समस्या समाधानमा कुनै प्रकारको दबाब वा प्रभावभन्दा पनि तपाईंहरूको सरोकार सामूहिक रूपमा सुन्न चाहेका हौं।’

एक साताअघि नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफूसँगको भेटमा अहिलेको स्थितिलाई ‘आन्तरिक राजनीतिक समस्या’का रूपमा पहिचान गरेको उल्लेख गर्दै विदेशमन्त्री स्वराजले त्यसका लागि नेपाललाई धन्यवाद भनेको पनि स्रोतले जनायो।
कूटनीतिक स्रोतका अनुसार जनसंख्या आधारमा निर्वाचन क्षेत्र र राज्यका सबै अंगमा समानुपातिक सहभागिताको संविधान संशोधन बुँदाबाहेक नागरिकता प्रावधानमा अन्तरिम संविधानको व्यवस्थाअनुसार मधेसी मोर्चा सहमत हुने स्थिति छ।

सीमांकनका हकमा पूर्वका झापा, मोरङ, सुनसरी तथा पश्चिमका कैलाली/कञ्चपुरका हकमा स्पष्ट कार्यदिशासहितको ‘रोडम्याप’ तयार गर्ने र संवैधानिक हैसियतसहितको राजनीतिक समितिले तीन महिनाभित्रमा सबै विवाद सुल्झाउने तहको समझदारी बनाउनमा दिल्लीको प्रयत्न रहनेछ। ‘तर पछि गरिने सहमति र समझदारीमा विश्वास नरहेका कारण मोर्चाका नेताहरूले सीमांकनमा तत्काल समाधान चाहेको स्थिति छ,’ दिल्लीस्थित एक क्ूटनीतिक अधिकारीले भने, ‘तत्कालको हठमा लागिरहने हो भने समाधान खोज्न मुस्किल छ।’

मधेसी मोर्चासम्बद्ध नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र राय यादव र राजेन्द्र महतोले आफूहरू मधेसी हकअधिकारका पक्षमा लडिरहेका बेला ‘भारतपरस्त’ भन्दै अनर्थको माहोल बनाइएको र काठमाडौं केन्द्रसँगको लडाइँलाई ‘दिल्लीसँगको लडाइँ’ का रूपमा बुझाउन खोजिएकोबारे असन्तोष व्यक्त गरेका थिए। विदेश सचिव एस जयशंकर, नेपालका लागि भारतीय राजदूत रणजित राय, विदेश मन्त्रालय प्रवक्ता विकास स्वरूप, नेपाल मामिला हेर्ने सहसचिव अभय ठाकुरसहितको द्विपक्षीय ‘डिनर बैठक’ झन्डै २ घण्टा चलेको थियो।

‘आन्तरिक समस्यालाई दिल्लीसँग जोड्ने काम सत्ताधारी र ठूला पार्टीहरूले गरेका छन्, हामीले गरेको नाकाकेन्द्रित धर्ना/अवरोधका कारण उब्जिएको नाकाबन्दीको समस्यामा भारतलाई जोडेर सिंगो मधेसको हकअधिकारको आन्दोलनलाई कमजोर बनाउन खोजिएको छ,’ विदेशमन्त्री स्वराजसँग भेट्नुअघि नेसनलिस्ट कंग्रेसका नेता डीपी त्रिपाठीसँग कुराकानी गर्दै नेता महतोले भने, ‘सिंगो देशका लागि लोकतान्त्रिक र अधिकारको अभियानमा भारतीय शुभेच्छुक मित्रहरूले सहयोग गरे पनि अहिले मधेसको हकअधिकार खोज्ने मामिलामा हामी एक्लिएका छौं।’

‘उहाँहरूले मधेसी समुदायको आवाज र मधेस क्षेत्रको सरोकारबारे बुँदागत रूपमा कुराकानी गर्नुभयो,’ त्रिपाठीले भने, ‘संविधान संशोधनमा आएका दुई बुँदाबाहेक सीमांकनको विवाद र नागरिकता प्रावधानबारे पनि चर्चा भयो। उहाँहरू काठमाडौंले मधेसको समस्या र आवाजलाई सम्बोधन गर्नै नचाहेकोमा चिन्तित देखिनुभयो।’ नेता त्रिपाठीले पनि जेजसरी भए पनि संवाद र सहमति गर्दै ‘राजनीतिक रोडम्याप’ मा अघि बढ्न आफूले सुझाव दिएको बताए।

त्रिपाठीअघि मधेसी मोर्चाका नेताहरूले कंग्रेस आईका करन सिंह, जनता दल युनाइटेडका शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सीताराम येचुरीसँग पनि भेटवार्ता गरेका थिए। ‘सत्तापक्ष वा विपक्ष नभनी हामीले हाम्रो सरोकार सुनाउन चाहेका हौं,’ मधेसी मोर्चाका नेता महतोले भने, ‘मधेसको हकअधिकारका बारेमा बुझेरभन्दा नबुझेर पक्ष र विपक्षमा उठिरहेको आवाजलाई सम्झाउन पनि सबै सरोकारसम्बद्ध पक्षमा भेटवार्ता गरेका हौं।’
मधेसी मोर्चाका नेताहरूले कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव येचुरीलाई ‘मधेसी आन्दोलन र यसको औचित्यबारे दिल्लीमा यथार्थबोध गराउन’ आफूहरू दिल्ली आएको बताएका थिए। ‘मधेस आन्दोलनका कतिपय माग र सरोकार स्वाभाविक लागे पनि यो तपाईंहरूको मामिला हो, आफ्नो समस्यालाई आफैंभित्र संवाद र सहमति खोजेर सुल्झाउनुहोस् भनेर सुझाव दिएको छु,’ येचुरीले कान्तिपुरसँग भने, ‘तर आन्दोलनकै कारण जोडिएर भए पनि सुरु भएको नाकाबन्दीको स्थितिले सर्वसाधारण नेपालीले कठिनाइ बेहोरेका छन्, यसमा अरू सहज र बाधा/विरोध नरहेका नाका उपयोग गर्दै भए पनि आपूर्ति/पारवहन सहज हुनुपर्छ भनेर आफ्नो कुरा राखेको थिएँ।’
भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले दिल्ली आएका मधेसी मोर्चाका नेताहरूसँग भेटवार्ता गर्न आफू इच्छुक रहेको बताउँदै ‘मधेस र नेपाल भनेर अलग पहिचानमा समस्याको सम्बोधन हुन नसक्ने’ सुझाव आफूले दिन चाहेको बताए। ‘अधिकतम सहमति र समावेशी राज्यका पक्षमा हामी सदैव रहिआएका छौं,’ कोसियारीले भने, ‘तर, देशभित्रै संवाद र सहमतिको स्थिति बढेर गएमा समझदारी आफैं भेटिने थियो भन्ने सधैंको धारणा म राख्न चाहन्छु।’

नाकाबन्दीमा नाम जोड्नु व्यर्थ : महत
बुधबारसम्म दिल्लीमा रहने मधेसी मोर्चाका नेताहरूले औपचारिक रूपमा केही बोल्न नचाहे पनि नाकाबन्दीको सरोकारमा भने जवाफ दिएका छन्। नेता उपेन्द्र यादव ‘हाम्रो प्रवक्ता महतोजी हो’ भन्दै पन्छिएपछि महतोले केही मिडियासामु कुराकानी गरे।

‘हाम्रो मधेसमा गएर भारतीयहरूले आफ्नो अधिकार खोजेका छैनन्, अधिकार खोजेको हामीले हो,’ महतोले मिडियासामु भने, ‘तेल वा ग्यास रोकिनु हामीभित्रको समस्या हो, यसमा भारतलाई दोष लगाउनुको अर्थ छैन।’

तराई–मधेसको आन्दोलन र नाकामा जारी मधेसीको धर्ना/जुलुसका कारण भारतबाट सहज आपूर्ति हुन नसकेको भन्दै महतोले काठमाडौंका शासकलाई मधेसको आवाज सुनाउन यो उपाय अपनाइएको बताए।

गतसाता दिल्ली आएर ‘मधेसी मोर्चासँग सबै प्रकारको सहमति भइसक्यो, घोषणा हुन मात्र बाँकी छ’ भन्ने परराष्ट्रमन्त्री कमल थापाको भनाइप्रति मधेसी मोर्चाका नेताहरूले रोष प्रकट गरे। ‘के सहमति भयो, कोसँग सहमति भयो हामीलाई थाहा छैन,’ मोर्चाका एक नेताले विदेशमन्त्री स्वराजसँगको बैठकमा भनेका थिए, ‘दिल्ली आएर सहमति र समझदारीका कुरा गर्ने तर काठमाडौंमा कुराकानीको टेबलमा बहस गर्न नरुचाउने सत्ताधारीहरूका कारण मधेसी जनताले दु:ख पाएका छन्। हामी आफ्नो धारणा स्पष्ट पार्न यहाँ आएका हौं, भारतले हाम्रो समस्या सुल्झाइदेओस् भन्न होइन।’

सोमबार भारतीय जनता पार्टीका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने तयारीमा रहेका मधेसी मोर्चाका नेताहरूले समय मिलेमा सोमबार अपराहन प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। सुरक्षा मामिला सल्लाहकार अजित डोबल र कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी हाल विदेशमा रहेकाले उनीहरूसँगको भेटघाटबारे निश्चित भएको छैन।

आइतबार सुरु भएको मधेसी मोर्चासम्बद्ध नेताहरूको दिल्ली दौडाहा बुधबार पूरा हुनेछ। ताजमानसिंह होटलमा बसिरहेका नेताहरूलाई विदेश मन्त्रालयमा नेपाल डेस्कका प्रमुख सहसचिव अभय ठाकुरले पहिलो चरणमा ‘ब्रिफिङ’ गरेका थिए। मधेसी मोर्चाका शीर्ष तहका नेताहरूको दिल्ली भेटघाटमा नेपाली दूतावासका कूटनीतिक प्रतिनिधिलाई कुनै जानकारी दिइएको छैन। kantipur