पाखापानी र मुदी शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध

सन्तोष गौतम/विकल्प
म्याग्दी मंसिर २० गते । म्याग्दीको दुर्गम मुदी र पाखापानी गाविसका सबै घरधुरी सहकारीमा आवद्ध भएका छन् ।

दुर्गम गाउँका महिलाहरुको अगुवाईमा सबै घरधुरीलाई सहकारीमा आवद्ध गराइएको हो । सहकारीमा आवद्ध भएपछि स्थानीय बासिन्दालाई आर्थिक कारोबार गर्न सुबिधा पुग्नुका साथै व्यक्तिबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने समस्यामा कमी आएको स्थानीयबासीले बताएका छन् ।
मुदीका ५७८ घरधुरी नमुना धौलागिरी र पाखापानीका ५०४ घरधुरी रघुगंगा महिला विकास बहुउद्देश्यिय सहकारी संस्थामा आवद्ध भएका हुन् । दुई वटै गाविसलाई स्थानीय सहकारी संस्था, सहमती, पलान नेपाल र महिला तथा बालबालिका कार्यालयको सहयोगमा सतप्रतिशत घरधुरी सहकारीमा आवद्धता भएको घोषणा गरिएको थियो ।

सहकारीहरुले बचत, सामुहिक जमानीमा बिनाधितो अधिकतम ५० हजार रुपैयासम्म कर्जा प्रवाहका साथै बिदेशबाट आफन्तले पठाएको रेमिटेन्स भुक्तानी सम्बन्धि सुबिधा दिने गरेका छन् ।

बैंकको पहुँच नपुगेको दुर्गग बस्तीका विपन्नलाई आठदश हजार रुपैया आवश्यक पर्दा साहुकहाँ चर्को ब्याज तिरेर ऋण लिनु पर्ने बाध्यता हटेको मुदी स्थित नमुना धौलागिरी महिला विकास सहकारी संस्थाका अध्यक्ष सरदेवी घर्तीले बताउनुभयो ।

यसअघि कुईनेमंगले, चिमखोला, पाखापानी, पात्लेखेत, झिँ, दग्नाम, कुहुँ, दाना लगायत १२ गाविसलाई पनि शतप्रतिशत घरधुरी सहकारीमा आबद्धता गाविस घोषणा गरिएको थियो ।