ताजा समाचार:
Search

अस्पतालको गुणस्तर सुधार्न छलफल शुरु

प्रताप बानियाँ /विकल्प
म्याग्दी, मंसीर २० गते । अस्पतालको गुणस्तर सुधार गरी अगाडि बढ्ने उद्देश्यले आइतबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा छलफल शुरु भएको छ । जिल्ला अस्पताल म्याग्दीको आयोजना र निक साईमन इस्टिच्युटको सहयोगमा गुणस्तर सुधारसँगै सेवासुविधाको बारेमा बेनीमा तिन दिने छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

DSC019781
कार्यक्रमको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सदस्य नवराज शर्माले अस्पतालको गुणस्तर सुधारका लागि गुरुयोजना अनुसार अघि बढ्नुपर्ने बताएका छन् । उनले अस्पताललाई आवश्यक दक्ष जनशक्ति वृद्धि, भौतिक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनका लागि आफूले केन्द्रमा लबिङ गर्नेमा जोड दिए ।
पछिल्लो समय जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको मेहनत, विकास समितिको चुस्तदुरुस्त व्यवस्थापन र जिल्लावासीको सहयोग रहेको भन्दै सांसद शर्माले राजनीतिक तहमा र नीतिगत रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सोही कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख गुणराज लोहनी र पश्चिमाञ्चल क्षेत्रीय निर्देशक तारानाथ पौडेलले अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि नीतिगत र रणनैतिक योजनाहरु आवश्यक रहेको बताएका थिए ।
निक साईमन इस्टिच्युटका शारदा शाहले धौलागिरि अञ्चलका स्वास्थ्य संस्थाहरुलाई अत्याधुनिक सेवा सुविधासहित गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाका रुपमा विकास गर्न आफ्नो संस्थाले सहयोग गर्ने बताइन् । ईस्टिच्युट, विकास समिति र जिल्लावासी मिलेर अस्पतालको सुधार गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले विगत १ वर्षको अवधिमा अस्पतालमा जिल्लावासी र अन्य संघसंस्थाको सहयोगमा झण्डै डेढ करोडबढीको भौतिक पूर्वाधारहरुको विकास गरिएको बताएका छन् । वरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन न्यापानेले भौतिक पूर्वाधारसँगै अत्याधुनिक उपकरण र दक्ष जनशक्ति थपिएको जानकारी दिए ।
आगामी ३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा धौलागिरिका म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका अस्पताल विकास समितिका पदाधिकारी, स्वास्थ्यकर्मी र कर्मचारीलगायतको सहभागिता रहेको छ । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष केसीको अध्यक्षता, सुपरिटेन्डेण्ट डा. न्यापानेको स्वागत र डा. हेमा जोशीको सञ्चालनमा शुरु भएको थियो ।