मल्लाजको बगरफाँटका बासिन्दा सात महिनादेखि सडक सुबिधाबाट बञ्चित

विकल्प /म्याग्दी
मङ्सिर १८ गते ।
म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको मल्लाज बगरफाँटका बासिन्दाहरु सात महिनादेखि सडक सुबिधाबाट बञ्चित भएका छन् ।

कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी सडक सुबिधाबाट बञ्चित भएका हुन् ।

२०७२ जेठ १० गते बैसरीमा पहिरोले थुनिएको कालीगण्डकी खुल्ने क्रममा आएको बाढीले कालीपुल पारी करिब तिस मिटर सडक कटान गरेर बगाएको थियो । पहराको फेदीमा तटबन्द र पर्खाल लगाएर बनाइएको सडक कटान भएपछि सवारी साधन आवत जावत बन्द भएको थियो ।

Road Marmat Bhayana

सडक मर्मतमा ढिलाई हुँदा बिरामीलाई अस्पताल लैजान, निर्माण र दैनिक उपभोग्य सामाग्री ढुवानी तथा आवत जावत गर्न कठिनाई भएको बगरफाँटका बासिन्दा हिराबहादुर बरुवालले बताउनुभयो ।

बगरफाँटमा दुई सय पक्कि घर रहेका छन् । म्याग्दी सदरमुकाम नजिकै भएकाले त्यहाँ कोठा भाडा लिएर बस्ने विद्यार्थी, कर्मचारी र सर्वसाधारणलाई सडक अवरुद्ध हुँदा आवत जावत गर्न कठिनाई भएको छ ।

त्यहाँका बासिन्दाहरु जिर्ण अवस्थामा रहेको कालीपुल–बगरफाँट झोलुङ्गे पुलबाट आवत जावत गर्दै आएका छन् । यात्रुको चाप बढेकाले पुलको लठा चुडिन थालेको छ । निर्माण र दैनिक उपभोग्य सामाग्री पनि पुलबाटै ढुवानी हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा बगरफाँटमा निर्माणाधिन १० भन्दा बढी घरको काम प्रभावित बनेको छ । बगरफाँटका साथै माझफाँट, बाँसखर्क, लेकफाँट र म्याग्दीको राम्चे गाविसका बासिन्दा सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् ।

बाँसखर्कका कृषकलाई सवारी साधान मार्फत ढुवानी गरेर सुन्तला बजारमा पु¥याउन पनि समस्या भएको छ । स्थानीयबासीहरुले सडक मर्मतका लागि ग्याविन र आर्थिक सहयोग गरिदिन सम्बद्ध निकायसंग माग गरेका छन् । २०७१ मंसिरमा बगरफाँटका बासिन्दाहरुले चन्दा संकलन गरेर उक्त स्थानमा सडक मर्मत गरेका थिए । सन्तोष गौतम