गुर्जामा हाब्रे संरक्षणका लागि चेतनामुलक कार्यक्रम

संन्तोष गौतम
विकल्प/म्याग्दी,मंसिर १८ गते ।
म्याग्दी जिल्लामा संकटापन्न अवस्थामा रहेको जंगली जनावर हाब्रे (रेडपाण्डा)को उपस्थिती भेटिएपछि संरक्षण अभियान सुरु भएको छ ।

विश्व बन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम, रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले हाब्रे संरक्षणका लागि समुदाय तथा विद्यालयमा चेतनामुलक कार्यक्रम सुरु गरेका हुन ।

Red panda (2)

रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताहरुले हालै गरेको अध्ययनका क्रममा जिल्लाको लुलाङ स्थित मरेनी सामुदायीक वन, ढोरपाटन शिकार आरक्षको जलजला क्षेत्र, गुर्जा र मुदी गाविसको जंगलमा हाब्रेको दिसा भेटिएको आधारमा त्यहाँ उसको बसोबास रहेको पुष्टि भएको थियो ।

रेडपाण्डाको संरक्षणका लागि पहिलो चरणमा गुर्जा, लुलाङ र मुना गाविसका ८ वटा सामुदायीक वन उपभोक्ता समूहका पदाधीकारी र तिन वटा विद्यालयमा चेतनामुलक कार्यक्रम गरिएको रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार स्थानीयबासीन्दा तथा विद्यार्थीहरुलाई हाब्रे अथवा रेडपाण्डाको महत्व, अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने आवश्यकता, चोरी शिकारी गरेमा हुने कानुनी कारबाही, पर्यापर्यटनको सम्भावना लगायतका विषयमा जानकारी गराएको हो ।

सो क्षेत्रका बासिन्दाहरु स्थानीय स्तरमा ओक्रा भनिने रेडपाण्डाको बसोबास रहेको भेटिएपछि संरक्षणमा अग्रसर भएका छन् । दोस्रो चरणमा समुदाय स्तरमा रेडपाण्डा संरक्षण गठन गरि सामुदायीक वन समूहका बिधान र कार्ययोजनामा संरक्षण योजना समावेश गर्ने तयारी भएको अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताउनुभयो ।

तिनवटै गाविसमा अनुसन्धानकर्ताद्धय बराल र श्रेष्ठ सहित जिल्ला वन कार्यालयका सहायक वन अधिकृत जयप्रकाश गुप्ताको टोलीले गत हप्ता एकएक दिनका दरले संरक्षण शिक्षा कार्यक्रम गरेको थियो । समुद्री सतहबाट दुई हजार देखि चार हजार ८०० मिटरको उचाईमा अवस्थित चौडापाते र कोणधारी मिश्रीत जंगलमा निगालोको झाडीमा बस्ने हाब्रेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगत संरक्षितको सूचीमा राखेको छ ।

निगालोको टुसालाई आहराको रुपमा प्रयोग गर्ने हाब्रेको संख्या नेपालमा पाँच सय देखि एक हजार वटा रहेको अनुमान गरिएपनी २३७ वटाको मात्र एकिन भएको छ । विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।